१७ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेमा मन्त्री छनोटको विषयलाई लिएर चर्को विवाद् भएको छ। शीर्ष तीन नेताबीच आआफ्ना निकटका व्यक्ति मन्त्री बनाउनुपर्ने झगडाले उग्र रुप लिएको बताइएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार अपरान्ह बसेको स्थायी समितिको बैठकमा पार्टीका शीर्ष नेताहरुले आफू निकटका सांसद्हरुलाई मन्त्री बनाउनुपर्ने अड्डी लिएपछि विवाद् भएको हो।
विवाद्का कारण चारघण्टा लामो बैठक विना निर्णय टुंगिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको नाममा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाललाई मनाउन नसकेपछि बैठक बिना निर्णय टुंगिएको हो।
एमालेमा मन्त्री बन्ने आकांक्षीहरुको सूची लामो भएपनि एमालेको भागमा अब जम्मा १० वटा मन्त्रालय मात्र बाँकी छन्। प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् गठन भएको २३ दिन वितिसक्दा पनि पार्टीको भागमा रहेका मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गर्न सकेका छैनन्।
बैठकमा वरिष्ठ नेता खनाल र नेता नेपालले महत्वपूर्ण मन्त्रालय एमाओवादी र राप्रपा नेपाललाई सुम्पिएको भन्दै अध्यक्ष ओलीको आलोचना समेत गरेका थिए।












