१७ कात्तिक, काठमाडौं । एमाओवादी सरकारमा सहभागी हुँदा मालदार मन्त्रालय लिएर भ्रष्ट्राचारमा नाम कमाएका टोपबहादुर रायमाझीले पार्टीले दिएको निर्देशन नटेरेरै भ्रष्ट्राचार गर्ने योजना बनाएका छन् । एकीकृत नेकपा माओवादीका मन्त्रीहरुले आफ्ना नातेदारलाई स्वकीय र निजी सचिव राख्न नपाउने आचारसंहिता बनाए पनि सरकारको नेतृत्व गर्ने उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नै त्यसको उल्लंघन गरेका हुन् । भ्रष्ट्राचार रोक्न भन्दै एमाओवादीले यस्तो आचारसंहिता बनाएको र आचारसंहिता नमान्ने मन्त्रीलाई फिर्ता बोलाइने बताउँदै आएको छ ।
पार्टीले बनाएको आचारसंहिता उल्लंघन गर्दै मन्त्री रायमाझीले भतिजा आलोक रायमाझीलाई पिए राखेका छन् । राजनीतिमा कुनै योगदान नै नभएका आलोक रायमाझी पाँच वर्षभन्दा बढी समय जर्मनीमा बसेर चार महिनाअघि मात्रै नेपाल फर्किएका हुन् ।
आलोकको एमाओवादीमा कुनै योगदान नरहेको र उनले पार्टीका कसैलाई पनि नचिन्ने मन्त्री रायमाझीकै गृहजिल्ला अर्घाखाँचीका एक माओवादी कार्यकर्ताले बताए । उपप्रधानमन्त्रीकै निर्देशनअनुसार उनले घर र मन्त्रालय दुवैमा स्वकीय सचिवको हैसियतमा काम गर्न थालिसकेका छन् ।












