१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले बिहीबारदेखि ३ दिन निजी सवारी साधनलाई पेट्रोल दिने भएको छ । निगमका निर्देशक मुकुन्द घिमिरेका अनुसार बिहीबारदेखि निजी सवारी मोटरसाइकल र कारको लट अनुसार पेट्रोल दिने निर्णय भएको हो । तीन दिनमा ९ लाख लिटर पेट्रोल बितरण गरिने निगमले जनाएको छ । यस्तै, निजी सवारीलाई वितरण गर्ने दिनमा कालो र सेतो प्लेटलाई वितरण नगर्ने पनि निर्णय भएको छ । ‘गृह, मन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय, सुरक्षा निकाय, निगम सहितको सोमबार भएको बैठकले निजी सवारी साधानमा लट अनुसार तीन दिन पेट्रोल बितरण गर्ने निर्णय भएको छ,’ निर्देशक घिमिरेले भने, ‘तीन दिन निजीलाई मात्रै वितरण गर्नेछौं ।’ निगमका अनुसार बिहीबार १ देखि ३० लट, शुक्रबार ३१ देखी ५० लट र तेस्रो दिनमा ५० देखि माथि लटका मोटरसाइकलहरुलाई वितरण गरिने छ । काररजिपको हकमा पहिलो दिनमा १ देखि ५ लट दोस्रो दिनमा ६ देखि ९ र तेस्रो दिनमा ९ देखि माथिका काररजिपलाई वितरण गरिने जनाएको छ । निगमका अनुसार मोटरसाइकललाई ५ र काररजिपलाई १५ लिटर इन्धन बितरण गरिने छ । घिमिरेका अनुसार बिहीबारदेखि शनिबारसम्म निजी पम्पबाट पनि इन्धन बितरण हुने छ ।
यसका लागि मगलबार सूचना प्रकाशित गर्ने तयारी भएको घिमिरेले बताए । ‘निजी सवारीलाई वितरण हुने दिनमा दैनिक ५०- ५५ वटा पम्पबाट बितरण गर्छौं,’ उनले भने, ‘कुन पम्पबाट वितरण हुने बारेमा मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी छ ।’ निगमका अनुसार चीनबाट इन्धन भित्रिने क्रम सुरु भएकाले निजीलाई पनि वितरण गर्न लागेको जनाएको छ । घिमिरेका अनुसार बिहीबार बितरण हुने इन्धन भारतीय आयल कर्पोरेसन्स आईओसीकै हो । चीनबाट अनुदानमा भित्रिने इन्धनको युरो ४ भएकाले ती इन्धन परीक्षण पश्चात मात्रै वितरण गरिने जनाएको छ ।












