१६ कात्तिक, काठमाडौं । भारतले विहारीलाई पठाएर मधेसका सिमामा गरेको आन्दोलनमा आफ्नो नागरिक मरेपछि उल्टै नेपालमाथि नै आरोप लगाएको छ । नेपाल प्रहरीलाई ढुङ्गा हान्न भारतले आफ्ना नागरिक नेपाली भूमिमा पठाउँदै आएको थियो । त्यसै क्रममा आज वीरगंजमा प्रहरीले आफूमाथिको आक्रमणका प्रतिकार गर्दा भारत रक्सौल नयाँ रोडका २४ वर्षीय आशिषकुमार रामको मृत्यु भएपछि भारतले उल्टै लज्जास्पद अभिव्यक्ति दिएको हो ।

नेपाली भूमिमा भएको झडमा भारतीय नागरिक मरेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी सोमबार वीरगञ्जमा भएको झडपप्रति गहिरो चासो व्यक्त गर्दै प्रहरीको गोली लागी निर्दोष भारतीय नागरिकको मृत्यु भएको जनाएको हो।
‘वीरगञ्जमा आज भएको घटनाप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौं’, विज्ञप्तीमा भनिएको छ,‘फायरिङमा निर्दोष भारतीय नागरिकको मृत्यु भएको छ ।’ विज्ञप्तीमा नेपालले भोगेको समस्या राजनीतिक भन्दै बल प्रयोगले यसको समाधान ननिस्कने बताइएको छ । ‘अहिले देखिएको भिडन्तको अवस्था नेपाल सरकारले प्रभावकारी र विश्वसनीय ढंगबाट सम्बोधन गर्नुपर्छ,’ विज्ञप्तीमा भनिएको छ । सीमा नजिकै भएको घटनाले भारतीय यातायात व्यवसायीहरु पुनस् त्रसित भएको विज्ञप्तीमा भनिएको छ । ‘हामीले उनीहरुलाई जोखिममा नपर्न आग्रह गरेका छौं,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामीले अवस्थाको सुक्ष्म अवलोकन गरिरहेका छौं ।’











