१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिको निर्वाचनपछि नेपाली कांग्रेसलगायत असन्तुष्ट पक्षहरुसँग वार्ता गरी सहमतिबाट अघि बढ्ने स्पस्ट बताएका छन् ।
प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार युवा संघ नेपालले बधाई तथा शुभकामना दिन गरेको कार्यक्रममा ओलीले आफु सहमतिबाटै अघि वढ्न चाहेको उल्लेख गरे । पहिला वार्ता कांग्रेससँग हुने उनले बताए । प्रधानमन्त्री ओलीले नेपाली जनताको इच्छानुसार नै नयाँ सरकार बनेको दावी गर्दै क्षेत्रियता र जातिवादी प्रवृत्तिलाई मलजल गरेर राष्ट्रमा संकट निम्त्याउन नहुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भूकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुनर्निर्माणको कामलाई तिव्रताका साथ अघि वढाइने पनि बताए । मुलुकमा लोकतान्त्रीक संबिधान निर्माण भईसकेको उल्लेख गर्दै उनले अब मुलुक आर्थिक विकासतर्फ अघि बढ्ने धारणा पनि राखे ।
कार्यक्रममा युवा संघले प्रधानमन्त्री ओलीलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । प्रधानमन्त्री ओलीले सम्मान ग्रहण गर्दे मुलुकलाई अघि बढाउनका लागी अव युवाशक्तिको काधमा जिम्मेवारी आएको बताएका थिए ।












