१३ कात्तिक, काठमाडौं । काठमाडौंमा भोलि शनिबारबाट खाना पकाउने ग्यासको विक्री वितरण सुरु गर्ने भनिए पनि अझै वितरणका लागि काठमाडौं पठाइएका बुलेटहरु आइनपुगेका कारण सबै सर्वसाधारणले आधा सिलिण्डर पनि ग्यास नपाउने अवस्था देखिएको छ । ग्यास डिपोहरुबाट आधा सिलिण्डर ग्यास विक्री गर्ने भनिए पनि सबै बुलेट काठमाडौं नआइपुगेका कारण सहज वितरण हुन अझै केही दिन लाग्ने ग्यास उद्योग विक्रेता महासंघका महासचिव चन्द्रबहादुर थापाले जानकारी दिए । भारतीय नाकाबन्दीपछि चुलिएको ग्यास संकट हटाउन सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्ने निर्णय आयल निगमले गरेको हो । यसका लागि उपत्यकामा वितरण गर्नका लागि ४७ बुलेट ग्यास काठमाडौं भित्र्याइँदै छ ।

सबै बुलेट काठमाडौं भित्र्याएर सिलिण्डरमा भरेर विक्री गर्न अझै केही दिन लाग्ने थापाले बताए । यद्यपि शनिबार नै कतिपय उद्योगहरुले उद्योगबाट नै ग्यास वितरण गर्ने समेत उनले बताए । अधिक उपभोक्तालाई पुगोस् भन्ने हेतुले आधा सिलिण्डर अर्थात् ७ दशमलव १ किलोग्राम ग्यास भरिएको सिलिन्डर विक्री गरिने छ। जसको मूल्य सातसय रुपैयाँ पर्नेछ ।
तर यसरी आधा सिलिण्डर विक्री गर्दा उपयुक्त परिमाण नभएर उपभोक्त ठगिने सम्भावना पनि त्यतिकै देखिएको छ । तर यसका लागि भने सिल गरिएको सिलिण्डर हुनुपर्ने र उपभोक्ताले चाहेको अवस्थामा तौल मापन गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने माग आफूहरुले गरेको महासचिव थापाले नेपालदेश डटकमलाई बताए ।
एक बुलेट ग्यासबाट २५ सय आधा सिलिन्डरमा ग्यास भरिने भएकोले ४७ बुलेटले काठमाडौंका सबैजसो उपभोक्ताले पाउन सक्ने सम्भावना देखिएको छ । यसमा होटल तथा रेष्टुरेण्टहरुलाईभन्दा सर्वसाधारणलाई प्राथमिकतामा राखेर वितरण गर्ने तयारी समेत आयल निगम र ग्यास उद्योग विक्रेता महासंघले गरेका छन् ।











