१३ कात्तिक, काठमाडौं । चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन शुक्रबार नेपाल आयल निगमबाट १२ वटा ट्यांकर केरुङ नाका पठाइएको छ । शुक्रबार बिहान आयलनिगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने गाडी केरुङ नाकाका लागि गुडेका हुन्। निगमका पदाधिकारीहरुले इन्धन बोक्ने ट्यांकरलाई पुजाआजा गर्दै चालकहरुलाई फूलमालासहित विदाई गरेका छन् । ट्यांकरहरु आजै चीन र रसुवा सीमानामा रहको केरुङ नाका पुग्ने जनाइएको छ । ती ट्यांकरहरु शनिबार पेट्रोलियम पदार्थ भरेर काठमाडौंको लागि गुड्ने बताइएको छ ।
पेट्रोल भर्न भने नेपाली ट्यांकर चीनको केरुङ बजार पुग्नुपर्छ । नेपाली नाकाबाट केरुङ बजार २८ किलोमिटर टाढा छ । त्यहाँ चिनियाँ ट्यांकरहरुले ल्याएको तेल पम्पिङ गरेर नेपाली ट्यांकरमा खन्याइने छ । तेल ढिलोमा आइतबारसम्म काठमाडौंमा आइपुग्ने छ ।
बाग्मती अञ्चलमा चल्ने पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरु मात्रै तिब्बत पठाइएको छ । निगमका वितरण विभागमा प्रमुख तथा प्रवक्ता निमित्त निर्देशक दीपक बराल नेतृत्वमा निगमका तीनजना, पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष तथा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी सहित चिनियाँ टोली पनि तिब्बत हिँडेका छन्। भारतीय आयल निगमसँगमात्रै इन्धन लिँदै आएको नेपाल आयल निगमले पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनबाट सडकमार्ग हुँदै तेल भित्र्याउन लागेको हो । नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि नेपालले पहिलोपटक इन्धन आपूर्तिका चीनबाट गर्नका लागि पहल गरेको हो। नेपालले चीनबाट इन्धन ल्याउने व्यावसायिक समझदारी बुधबार गरेको थियो। बेइजिङमा रहेको नेपाली टोलीले त्यहाँको सरकारी टोलीसँग दुई पक्षीय समझदारीपत्र एमओयूमा बुधबार अपराह्न हस्ताक्षर गरेका थिए । समझदारीअनुसार चीनबाट तत्कालका लागि नेपालमा खपत भइरहेको परिमाणमा बढीमा एक तिहाइ ल्याइने छ । बाँकी दुई तिहाइ भारतीय कम्पनीबाटै ल्याउने निगमको योजना छ । चीनबाट ल्याउने इन्धन रसुवागढी र तातोपानी दुवै नाकाबाट उपलब्ध गराउने र सीमासम्म चीनले नै ढुवानी गरिदिने छ ।












