११ कात्तिक, बेइजिङ । भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको छ। नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार दिउँसो सम्झौता भएको हो।
चीनबाट इन्धन आयात गर्ने व्यावस्था मिलाउन बेइजिङ गएको नेपाली प्रतिनिधिमण्डलले चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र पेट्रो चाइनाका अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरेपछि सम्झौता भएको हो। नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेको सम्झौता पत्रमा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पदार्थ आयात गर्ने उल्लेख छ।

चीनबाट व्यापारिक रुपमा नेपालमा इन्धन आयात गर्ने प्रक्रिया अब अगाडि बढेको बेइजिङमा रहेका चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिए ।











