९ कात्तिक, काठमाडौं । नेपाल देशले पहिलोपल्ट महिला प्रमुख पाउने भएको छ । सत्ता साझेदारीअन्तरत एमालेको भागमा परेको राष्ट्रपति पदमा विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय सो दलले गरेसँगै नेपालमा पहिलोपल्ट राष्ट्रपति महिला बन्ने निश्चित भएको हो । त्यसो त राजतन्त्रकालमा पनि कोही महिला राष्ट्रप्रमुख बनेको छैन । नाबालक छोरालाई गद्दीमा बसालेर नायबी चलाउने रानीको इतिहास भए पनि राष्ट्रप्रमुख वा महारानी बनेर शासन चलाएको इतिहास छैन ।
अब एमाओवादी लगायत सत्तासाझेदार दलको समर्थनमा मदन भण्डारी पत्नी विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भएको छ । एमालेभित्रका दुई इलामे नेता झलनाथ खनाल र सुवास नेम्वाङको सम्भावना त्यतिवेला समाप्त भयो जब अध्यक्ष केपी ओलीले विद्याको नाम एमाले बैठकमा प्रस्ताव गरे । स्थायी कमिटीमा सबै नेताले विद्याको नाममा समर्थन जनाएका थिए ।
एमाले राष्ट्रपतिमा महिला उम्मेदवार बनाएपछि अब उपराष्ट्रपतिमा एमाओवादीले पुरुष जनजाति उम्मेदवार बनाउने तयारी गरेको छ । राष्ट्रपति पाएको भए अमिक शेरचनलाई उम्मेदवार बनाउने तयारी गरेको एमाओवादीले उपराष्ट्रपतिका लागि भने गोपाल किरातीलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
गोपाल किरातीलाई उपराष्ट्रपति बनाउँदा जनजातिको प्रतिनिधित्व हुने भन्दै एमाओवादीले यस्तो गृहकार्य गरेको गोप्य स्रोतले बताएको छ । राजधानीमा एमाओवादीका नेता उपराष्ट्रपति, सभामुख र मन्त्री बन्ने दौडमा लागिरहेका बेला पूर्वमन्त्री किराती भने ट्याम्के डाँडामा निर्माण गर्न लागेको किरात टावरको वेस क्याम्पमा भैंसी पालेर बसिरहेका छन् । किरात टावर निर्माणको अभियानका लागि भन्दै आफूले वेस क्याम्पमा अड्डा जमाएर बसेको उनले बताउँदै आएका छन् ।













