२७ असोज, काठमाडौं । व्यवस्थापिका संसदले सहमतिमै सभामुख चयनका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समयावधि दिएको छ ।
बुधबार बसेको संसदको बैठकले संविधानको धारा २ सय ९९ अनुसार सहमतिमा सभामुख चयन गर्न बिहीबार दिउँसोसम्मको समय दिएको हो । बिहीबार सहमतिमा सभामुख चयन हुन नसके शुक्रबार दिउँसो ३ बजे सभामुख र ५ बजे उपसभामुखको चुनाव हुने सभामुख लक्ष्मण राजवंशीले संसदलाई जानकारी गराए ।
बुधबार सभामुख सुवासचन्द्र नेम्बाङ र उपसभामुख ओनसरी घर्तीले राजीनामा दिएपछि जेष्ठताको आधारमा नेपा राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले सभामुखको जिम्मेवारी सम्हालेका हुन् । बैठकमा सभामुख राजवंशीले सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको जिम्मेवारीका विषयमा जानकारी गराएका थिए । त्यस्तै उनले सभामुख र उपसभामुखले दिएको राजीनामा पत्र पढेर सुनाएका थिए ।












