२५ असोज, काठमाडौं । अमेरिकामा दिवंगत भएका राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको शव आज काठमाडौं ल्याइएको छ । उनको शव केही मंगलबार त्रिभुवन विमानस्थलमा ल्याइएको हो । उहाँको शव आज पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन आज अपरान्ह राप्रपा नेपालको पार्टी कार्यालय पुगेका छन्
गत असोज १६ गते उपचारका क्रममा अमेरिकामा निधन भएको दस दिनपछि गुरुङको शव काठमाडौं ल्याइएको हो । विमानस्थलबाट उनको शव सिधै धुम्बाराहीस्थित पार्टी कार्यालय पुर्याइएको थियो ।
पेङक्रियाजको क्यान्सरले थलिएपछि गुरुङलाई दिल्ली हुँदै थप उपचारका लागि अमेरिका लगिएको थियो। उनको अमेरिकाका कोलोराडो अस्पतालमा ६१ वर्षको उमेरमा निधन भएको हो । २०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए ।
राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालको महामन्त्री बने । पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा १ बाट पराजित भएका थिए। गुरुङका एक श्रीमती, छोरा र छोरी छन् ।












