भारतीय आयल निगम आईओसीले नेपाल आयल निगमलाई सोमबार पेट्रोलिय पदार्थ दिनुका साथै भारतले लगभग सबै नाका समेत सहज बनाएको छ । वीरगंज नाकाबाहेका सबै नाकाबाट पेट्रोलियम पदार्थका ट्यांकर र ग्यास बुलेटहरु नेपाल भित्रिएका छन् ।
सोमबार पूर्व क्षेत्रमा वितरण हुने ईन्धन ढुवानी गर्ने ट्यांकरलाई सिलीगुडीको डिपोमा बोलाएरै तेल दिएको छ। यसअघि ८ घन्टा चाँच पासको समय लिएका भारतीय एसएसवी सिमासुरक्षा बलले ५ मिनेटमै चाँच पास दिने गरेको ट्यांकर चालकले बताएका छन्।
नेपालमा राजनीतिक संरचना परिवर्तन भए लगत्तै पानिट्यांकीबाट काकडभिट्टा आउने नाकाको अवरोध पूर्णरूपमा हटेको छ।
भारतीय एसएसविका एक उच्च अधिकारीले नाका खुकुलो भएको प्रतिक्रिया दिएका छन् । असोज ७ देखिको अघोषित नाकाबन्दीको १९ औ दिन सोमबार पूर्वी नाका काकडभिट्टा आउन ईन्धन बोकेका ट्याँकरलाई कुनै अवरोध भएन।
भारतको पानी ट्याँकीबाट नेपाल आउने सो नाकामा सोमबार साँझसम्म हवाई ईन्धनको १ , मट्टितेल १ र २२ वटा डिजलका टयांकर भित्रिएका छन्। यो वाहेक २ बुलेट खाना पकाउने एलपी ग्यास पनि भित्रिएको छ ।
ईलाका प्रहरी कार्यलय काकडभिट्टाका डिएसपी श्यामकृष्ण अधिकारीले भारतीय नाकाबाट ढुवानीका ति साधन बिना अवरोध नेपाल भित्रिएको बताए। नेपाली ट्यांकरलाई आईओसीले बोलाएरै ट्यांकरमा तेल भरिदिएको बताए ।
ईन्धन लिनकै लागि सोमबार दिउँसो करिव ४० वटा ट्यांकर सिलिगुडी गएका छन्।
त्यस्तै भारतको अघोषित नाकाबन्दीले बन्द रहेको विराटनगरस्थित रानी नाका सोमबार साँझबाट सूचारु भएको छ।
तीन दिनयता ठप्प रहेको रानी नाका साँझदेखि सुचारू भएको भन्सार प्रमुख कृष्ण बस्नेतले बताए। नेपाल भारत सीमाको जोगबनीको रानी २ नम्बर गेटमा मधेशी मोर्चका कार्यकर्ताले धर्ना बस्दै नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि सामान निकासी पूर्णत ठप्प थियो।
तर, सोमबार साँझबाट अवरोध हटेपछि मालवाहक गाडीहरू धमाधम नेपाल भित्रन थालेको बस्नेतले जानकारी दिए।
त्यस्तै गत १८ गतेदेखि ठप्प बनेको रुपन्देहीको सीमानाका बेलहिया एकसाता पछि सोमबारदेखि सुचारु भएको छ। मधेशी मोर्चाका कार्यकर्ताको प्रदर्शन र भारतको अघोषित नाकाबन्दीका कारण अघिल्लो सोमबारदेखि बन्द रहेको बेलहिया सोमबारदेखि सूचारु भएको हो।
दिउँसो साढे १ बजेदेखि सूचारु भएको बेलहिया नाकाबाट केहि ईन्धनका गाडीसहित मालबाहक गाडी भित्रिन शुरु गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए।
दुवै देशका स्थानीय प्रशासनसँगै व्यापारिक संघसंस्था तथा नागरिक समाजको समन्वय र पहलमा नाका सुचारू भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।
अघिल्लो सोमबार मोर्चाका कार्यकर्ता र प्रहरीका बिचमा झडप भएपछि गाडी आवतजावत बन्द भएकोमा बुधवार मोर्चाका कार्यकर्ताले सुनौली बजार गएका सर्वसाधारण माथी आक्रमण गर्न थालेपछि किनमेलको लागि जानेहरूलाई समेत कडाई गरिएको थियो।
सीमा नाकामा गाडी सुचारू भएसँगै दसैंमा मनाईने दुर्गापूजाको लागि चाहिने दुर्गा मूर्ति भित्राउने क्रमपनि सुरू भएको छ। सोमबार मात्रै एक दर्जन बढी ट्याक्टर मूर्ति ल्याउनको लागि सुनौली गएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।












