२५ असोज, काठमाडौं । दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा मंगलबार निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्ने भएको छ । मंगलबार पेट्रोल पाउने भएपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा सोमबारदेखि सवारी साधनको लामो लाइन लागेको छ ।
मंगलबार दिउँसो १ बजेदेखि सबै पम्पमा पेट्रोल र डिजेल वितरण सुरु गर्ने तयारी गरिएको छ । एक स्थानमा तेल भरेकाले अर्को स्थानमा गएर भर्न पाउने छैनन् ।
उपत्यकामा रहेका झण्डै १ सय २५ पेट्रोलपम्पहरुले निजी सवारीलाई इन्धन वितरण गर्नेछन् । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले भने । निगमले सहजरुपमा तेल लिने वातावरण बनाउन सबै पम्पहरुलाई तेल दिन लागेको उनले जानकारी दिए ।
सार्वजनिक सवारीलाई भने बसपार्क क्षेत्रका केही पम्पहरूमा मात्र तेल दिइने नेपाल आयल निगमका प्रवक्ता बरालले बताएका छन् ।

आयल निगमले निजी मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल दिने जनाएको छ । यस्तै चारपांग्रे कार, जिप र भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो ।
निगमले सार्वजनिक यतायात अन्तरगत जोरबिजोर नम्बरका आधारमा माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।
यस्तै अत्यावश्यक बस्तु ढुवानीमा संलग्न साना गाडीहरुले जोरबिजोरका आधारमा १० लिटर तेल पाउँदै आएका छन् । अतिआवश्यक सेवाका दमकल, एम्बुलेन्स लगायतलाई दैनिक १० लिटर तेल उपलब्ध गराउने क्रम चलिरहेको छ । ट्याक्सीले सातामा १० लिटर पेट्रोल पाउँदै आएका छन् ।
तेल भर्न आउँदा सवारीको ब्लुबुक बोकेर आउन आग्रह गरेको छ । तोकिएको परिमाणअनुसार इन्धन भरेर ब्लु बुकमा आयल निगमको लोगो अंकित छाप लगाउने व्यवस्था गरिएको बरालले बताए ।
उपत्यकामा मंगलबार ६ लाख लिटर पेट्रोल वितरण गर्ने योजना छ । डिजेल भने लामो दुरीमा चल्ने सवारीलाई लक्षित गरी वितरण गर्ने भनिए पनि परिमाण तय भएको छैन ।
निगमले सोमबार ८६ वटा पम्पबाट ४ लाख ७० हजार लिटर डिजेल वितरण गरेको छ भने ८ वटा पम्पबाट ५८ हजार लिटर पेट्रोल बाँड्दैछ ।
भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो । दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल निगमले निजी सवारीलाई पनि तेल दिने निर्णय यसअघि नै गरेको थियो ।











