२५ असोज, काठमाडौं । प्रधानमन्त्री पदको सपथ लिँदा ईश्वरका नाउँमा सपथ लिन अस्वीकार गरेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो सार्वजनिक समारोहको सुरुवात भने ईश्वरीय समारोहबाट गरेका छन् । राष्ट्रपति यादवले सपथ खुवाउने समयमा ईश्वर र जनताका नाउँमा भनी सपथ खुवाउँदा ईश्वर नभनी केवल जनता भनेका थिए । तर तिनै ओलीले पदभार ग्रहण गरेपछि राष्ट्रपतिकै पदचाप पछ्याउँदै वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको पूजा तथा जात्रामा सहभागी भएका छन् । रातो मच्छिन्द्रनाथको भोटोजात्रामा सहभागी हुँदै ओली भोटोजात्रा हेर्नुका साथै मच्छिन्द्रनाथलाई ढोगेका थिए ।
खासगरी कम्युनिस्टहरु आफूलाई भौतिकवादी भन्दै ईश्वरी आस्था प्रकट गर्दैनन् । कम्युनिस्टहहरुकै सिद्धान्तका कारण देश अहिले धर्मनिरपेक्षतामा छ । तर तिनै कम्युनिस्टहरुको व्यवहार भने परस्पर विरोधी देखिँदै आएका छन् । ईश्वरका नाउँमा सपथ चाहिँ नखाने तर धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री हिन्दू तथा बौद्ध धर्म विशेषको धार्मिक कार्यक्रममा सहभागी हुनु पक्कै पनि अनौठो कुरा हो । त्यसो त धर्म निरपेक्ष राष्ट्रको राष्ट्रप्रमुख हिन्दू धर्म तथा जात्रा पर्वमा सहभागी हुने भएकोले संविधानमा धर्मनिरपेक्षता राख्नुको अर्थ नरहेको विश्लेषण समेत हुँदै आएको छ ।












