२३ असोज, काठमाडौं । केपी ओलीले प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरे लगत्तै कांग्रेसले पनि आफूलाई अन्तिममा आएर समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्। शनिबार प्रधानमन्त्रीका लागि १४ दलको समर्थनसहित उम्मेद्वारी दर्ता गरेका ओलीले अन्तिममा कांग्रेसले पनि आफूलाई समर्थन गरेर सहमतिको सरकार बन्ने विश्वास लिएका छन्।
विगतमा सुशील कोइराला प्रधानमन्त्री हुँदा आफैं प्रस्तावक बनेको भन्दै ओलीले सुशील कोइरालाले पनि आफूलाई धोका नदिने बताए।
अहलेको आवश्यकता भनेको एकता हो भन्दै उनले १६ बुँदे सहमति र भद्र सहमति, भूकम्पपछिको पुननिर्माणका लागि आवश्यक हुने उनले बताए।
संसदभित्र रहेका १४ दलले एमालेलाई समर्थन गरेका छन्।
कांग्रेसको समर्थन बिनै शनिबार प्रधानमन्त्रीमा उम्मेद्वारी दर्ता गराएका केपी ओलीलाई प्रधानमन्त्री बनाउन बहुमत पुग्ने स्पष्ट देखिएको छ।

एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको छ ।
ओलीको पक्षमा संसद्मा रहेका १२ वटा साना दलले पनि हस्ताक्षर गरेका छन्। नेकपा माले, राष्ट्रिय जनमोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल, समाजवादी जनता दल, नेकपा संयुक्त, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमुक्ति, नेपाली जनता दल, नेपाः राष्ट्रिय पाटी, राष्ट्रिय जनमुक्ति पार्टी र वहुजन शक्ति पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
एमालेसँग १ सय ८३, एमाओवादीसँग ८३, राप्रपा नेपालसँग २५ तथा १२ वटा साना दलसँग २६ जना सांसद् छन्।
ओलीले उम्मेद्वारी दर्ता गराउने क्रममा उनको पक्षमा हस्ताक्षर गरेका सबै साना दलका नेता पनि संविधानसभा भवनको ल्होत्से भवनमा सहभागी थिए।
एमाले अध्यक्ष ओलीले उमेद्वारी दर्तापछि काँग्रेस नेतृत्वमा सरकार गठन गर्दा तथा गत जेठ २५ गते दुई पटक संविधान जारी भएपछि एमालेको नेतृत्वमा सहमतीय सरकार गठन गर्ने सहमति भएको भन्दै कांग्रेसले समर्थन गर्नेमा आफू अझै आशावादी रहेको बताएका थिए।











