२३ असोज, काठमाडौं । सरकार गठनका क्रममा नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच १४ बुँदे सहमति भएको छ ।
सहमति पत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।
सरकार गठनका लागि एमाओवादीले अघि सारेको ८ बुँदे आधार पत्रलाई टेकेर १४ बुँदे सहमति भएको हो । एमाले र एमाओवादीबीचको यो राजनीतिक सहमति शक्ति बाँडफाँडको विषय नरहेको एमाओवादीले जनाएको छ ।
थारु, मधेसी, जनजाति लगायतको आन्दोलनका राजनीतिक समाधान खोज्ने सहमति भएको समेत दुवै दलका नेताहरुले बताएका छन् । मधेसी, थारु, जनजातिसँग वार्ता गरी अधिकतम राजनीतिक सम्बोधन गर्ने र संविधान संशोधन एवं परिमार्जन गरी व्यापक स्वीकार्यकता बनाउने सहमति समेत उनीहरुबीच भएको छ ।











