२३ असोज, काठमाडौं । नेपाल आयल निगमले इन्धन आपूर्तिका लागि बिहीबार आह्वान गरेको ग्लोबल टेन्डर लागि दोस्रो दिनसम्म पाँचवटा प्रस्ताव परेका छन् । तीनदिने टेन्डरको अन्तिम म्याद शनिबार हो ।
दुई दिन बिहीबार र शुक्रबारमा १० कम्पनीले चासो देखाएका छन ।
ढुवानीका लागि चासो देखाउनेमा अधिकाश काग्रो सर्भिस र पेट्रोलियमसँग जोडिएका कम्पनीहरु रहेको निगमका एक अधिकारीले बताए ।
‘बिहिबार ३ वटा र शुक्रबार ७ वटा कम्पनीहरु सोधपुछका लागि आएका थिए । तिनीहरुले प्रक्रियाका बारेमा बुझन चाहेका छन,’ नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘सोधपुछ गर्न आउनेमा अधिकाश सयुक्त लगानी भएका कम्पनी छन ।’
निगम स्रोतका अनुसार सिंगापुर, यूएईका शारजाह, दुवईलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न पाँच संस्थाले शुक्रबारसम्म प्रस्ताव गरेका छन् । शनिबार सार्वजनिक विदा परेकोले आइतबार थप केही प्रस्ताव पर्ने अनुमान गरिएको छ ।
निगमले अल्पकालीन नीतिअन्तर्गत डिजेल प्रतिदिन दुई सय किलोलिटर, पेट्रोल सय किलोलिटर, हवाई इन्धन र मट्टितेल दुई -दुई सय किलोलिटर र एलपीजी ग्यास सय मेट्रिक टन आपूर्तिका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो ।
हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्कालै पेट्रोलियम पदार्थ उपलब्ध गराउन स्वदेशी तथा विदेशी आपूर्तिकर्ता ९सप्लायर्स० बाट प्रस्ताव माग गरिएको थियो ।
अघोषित नाकाबन्दी लगाएको भारतको भने टेन्डर प्रतिस्पर्धामा समेत अनुपस्थिति देखायो । डिपोको ट्यांकरबाट जहाजमा र फेरि जहाजबाट ट्यांकरमा इन्धन हालेर पठाउँदा पेट्रोलियम पदार्थको गुणस्तर बिग्रन सक्ने भन्दै भारतीय कम्पनीले प्रस्ताव हाल्न ‘आनाकानी’ गरेको छ ।
स्रोतका अनुसार भारतीय कम्पनीले नेपालका निजी क्षेत्रलाई पनि प्रस्ताव हाल्न असहयोग गरेको छ । ‘भारतीय कम्पनीले आफू पनि प्रस्ताव हालेनन्,’ निगम स्रोतले भन्यो, ‘निजी क्षेत्रले हाल्न खोज्दा पनि असहयोग गरेर नकारात्मक भूमिका खेलेका छन् ।’
निगमले १५ दिनका लागि खपत हुने गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपीजी ग्यास आपूर्ति गर्न टेन्डर आह्वान गरेको हो । ‘दोस्रो दिनसम्म अत्यन्त न्यून संख्यामा प्रस्ताव आएको छ’, निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने, ‘जुन संख्यामा आउनुपर्ने थियो, त्यो संख्यामा आउन सकेको छैन ।’











