२२ असोज, काठमाडौं । ठूलो दल कांग्रेसका नेताहरुबीचको भागवण्डा नमिलेका कारण आइतबार हुन लागेको प्रधानमन्त्रीको चुनावमा समेत सो दल किंकतव्र्यविमूढमै अलमलिएको छ । पार्टी सभापति भएपछि भ्रातृ संगठनको चुनाव नै नगरी तहसनहस पारेका सुशील कोइरालाले पार्टीको महाधिवेशन पनि अन्तरिम संविधानले तोकेको समयमा गरेनन् । त्यसैलाई आधार मान्ने हो भने अहिले कांग्रेस पार्टी नै अवैधानिक पार्टीका रुपमा रहेको छ । एकपल्ट प्रधानमन्त्री हत्याएका कोइराला फेरि प्रधानमन्त्रीको चुनाव गर्न नपरे हुन्थ्यो भनेर सुस्ताएका छन् । तीन दिनसम्मको केन्द्रीय कार्यसमिति बैठकमा पनि कुनै निष्कर्ष निकाल्न नसकेको कोइराला सके प्रधानमन्त्री नै दोहोर्याउने दाउमा थिए । एमाले र एमाओवादीले साथ नदिने भएपछि अब राष्ट्रपतिको कसरतमा लाग्ने कि पार्टी सभापति भन्ने दोधारमा उनी छन् ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार आफू हुनुपर्ने भन्दै कोइरालासँग महाधिवेशनमा सभापति बन्न पाउनुपर्ने आश्वासन अनुमोदन गर्न चाहेका छन् । तर कोइराला राष्ट्रपति भएर देउवा पार्टी सभापति भए भने रामचन्द्र पौडेललाई के त ? पौडेलले भन्ने गरेका छन् कि मैले सत्रपल्ट प्रधानमन्त्रीको चुनाव हारेर के पाएँ ? अब मेरो पालो आउनुपर्छ ।
कांग्रेसको समस्या यहीँनेर अल्झिएको छ । कार्यसमितिले गर्न नसकेको निर्णय शुक्रबार रातिसम्म पनि तीन नेताले समेत गर्न सकेका छैनन् । त्यसैले एमाओवादीसँग शुक्रबार राति भएको बैठकमा पनि कांग्रेसले सरकारको नेतृत्व दावी गर्न पनि सकेन र एमालेलाई समर्थन गर्छु पनि भनेन ।
विहान एमाले नेतृत्वसँग छलफल गरेको एमाओवादी नेतृत्व साँझ बालुवाटार पुगेको थियो । भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनमा जोड दिएका थिए। एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको भन्दै प्रचण्डले त्यसअनुसार अघि बढ्नु पर्ने बताएका थिए ।
कांग्रेसले एमाओवादीका कुरा सुनेर एमाओवादीलाई फर्काएको थियो । शुक्रबार नै एमाले नेता माधव नेपालले सुशील कोइरालालाई भेटेर ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए ।












