२२ असोज, काठमाडौं । नेपाली काँग्रेसले नयाँ सरकारको गठन सम्बन्धी निर्णय लिन पार्टीका शिर्ष तीन नेतालाई जिम्मा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा तीनदिनदेखि बसेको केन्द्रीय समितिको बैठकले नयाँ सरकारको गठन सम्बन्धी निर्णय लिन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको हो । बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम शुक्रबार नै सकिएको हो ।
वरिष्ठ नेता शेरबहादुर देउवाले संसदीय दलको चुनाव गर्न माग गरेका थिए । सभापति सुशील कोइरालाले भने पार्टी पदाधिकारीहरुबीच सल्लाह गर्दै निर्णय गर्ने सुनाएका थिए ।

केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि उपसभापति रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्रीको उमेद्वार बनाउन आग्रह गरेका थिए । पौडेलको यस्तो भनाइ आएपछि केन्द्रीय सदस्यहरुले उठेर यो वैठकको निश्कर्ष के हो भनेर प्रश्न गरेका थिए ।
पौडेलको भनाइपछि देउवाले कोइराला, पौडेल र आफू तीनैजना प्रधानमन्त्रीको उम्मेदरवार भएको बताएका थिए । अब अन्य दलसँग छलफल गरेर जसले समर्थन जुटाउन सक्छ, उसलाई नै प्रधानमन्त्री बनाउनुपर्ने देउवाले बताए ।
पार्टीका तीनै नेताले प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेपछि बैठक निश्कर्षमा पुग्न नसकेकेकोले तीन नेता र पदाधिकारीले विवाद टुंग्याउने गरी बैठक सकिएको हो ।











