धर्मराज कठायत / कञ्चनपुर २२ असोज
नेपालमा गएको महाभुकम्प पछि पश्चिमी नाका गड्डाचौकीबाट तस्करहरुले महिला तथा बालबालिकाहरुलाई भारत र तेस्रो मुलुक पुरयाउने क्रम बढेको छ । गड्डाचौकी नाका भएर पछिल्लो समयमा डेढ सय भन्दा बढी महिला र बालबालिका भारत र तेस्रो मुलुक पुरयाइएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिएकी छिन् । हालसम्म आफुहरुले १ सय २२ जनाभन्दा बढीको उद्धार गरेको उनको भनाइ रहेको छ । १० दिन पहिला भीमदत्त नगरपालिका १८की १२ बर्षिय हरिमाया(नाम परिवर्तन) र बेल्डाडी ३ की ९ वर्षीय सुनमाया (नाम परिवर्तन) लाइ उद्धार गर्न संस्थाकी संयोजक महेश्वरी भट्ट आफै भारतको कर्नाटकको बालकिया बालमन्दिर पुगेकी थिइन ।
माइती नेपालले सिमा क्षेत्र र भारतका बिभिन्न भागबाट गरी महिला र बालबालिकाहरुको उद्धार गरेको भट्टले जानकारी दिनुभएको छ । यसैबिच भारतको बाटो भएर ओमान जान लागेका २ जना युवतीहरुलाई समेत माइती नेपालले उद्धार गरेको छ । स्याङजा घर भएकी दुइ जना महिलाहरुको उद्धार गरिएको छ । म्हिलाहरुको उद्धार गरिएको भएपनि पछिल्लो समयमा भारत र तेस्रो मुलुक लैजाने दलालहरुका बिगबिगी भएको भन्दै यसको रोकथामको लागि समुदायका सबैको प्रयास र पहल जरुरी रहेको माइती नेपालको भनाइ रहेको छ ।











