२१ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमति जुटाउन साना दलसँग छलफल गरेका छन् । ओलीले आज राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटी नयाँ सरकारमा सहभागी हुन आग्रह गरे । एमालेका तर्फबाट औपचारिक पत्र दिंदै ओलीले कमल थापालाई पनि एमाले नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्न र सरकारमा सहभागी हुन समेत आग्रह गरेका हुन् । थापालाई भेट्न एमाले अध्यक्ष ओली राप्रपा नेपालको पार्टी कार्यालय धुम्बाराही पुग्नुभएको थियो । ओलीको आग्रहमा कमल थापाले सकारात्मक धारणा व्यक्त गरेका थिए । सरकार गठनमा एमालेलाई सहयोग गर्ने आश्वासन दिए पनि आफू प्रतिपक्षमै बस्ने जवाफ कमल थापाले फर्काएका थिए ।
राप्रपा नेपालसंग छलफल गर्न एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारीलगायतका नेता धुम्वाराही पुग्नुभएको थियो । एमालेका नेताहरुले केहि दिन अघि निधन भएका राप्रपा नेपालका महामन्त्री चन्द्र वहादुर गुरुङ प्रति श्रद्धान्जली अर्पण समेत गरेका थिए ।












