२० असोज, काठमाडौं । कांग्रेसमा ठूलो दलले सरकार गठनको पहल गर्ने प्रावधानअनुसार प्रधानमन्त्रीको उम्मेदवार तोक्नका लागि संसदीय दलको नयाँ चुनाव गराउन आन्तरिक दबाब परेको छ।

बुधबार बिहान बस्ने केन्द्रीय समिति बैठकमा नयाँ सरकार निर्माणका लागि ठूलो दलको नाताले कांग्रेसले नै पहल गर्नुपर्ने भन्दै तत्काल दलको नेता चुन्ने प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब दिने तयारी गरिएको छ।
तराई जारी आन्दोलनको अभिभावकीय भूमिका निर्वाह गरेर समाधान गर्न सक्ने र जारी संविधानको कार्यान्वयन गराउने क्षमता कांग्रेससँग मात्रै भएको भन्दै केन्द्रीय समिति बैठकमा पार्टीले उम्मेदवार तोकेर अघि बढ्न दबाब दिने केन्द्रीय सदस्यहरूले बताएका छन्।
तराईमा जारी आन्दोलनलाई वार्ताबाट मिलाउने जिम्मा कांग्रेसकै हो, संविधान सबैसँग सहकार्यबाट कार्यान्वयन गर्न सक्ने पार्टी पनि कांग्रेस नै हो भन्दै नयाँ सरकार सकभर सहमतिमा र नभए बहुमतीयमा भए पनि अधिकतम दलको समर्थनमा सरकार गठनको पहल गर्न दलको नयाँ नेता चन्नुपर्ने धारणा देउवा पक्षधरको छ ।
कांग्रेसभित्र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले फेरि पदको लोभ गर्न नहुने भन्दै दलको चुनाव गराएर वा सहमतिबाट तत्काल नेता चुनेर सरकार निर्माणमा अघि बढ्न दबाब परेको छ।कांग्रेसभित्र वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी छन्।
उनीहरू प्रधानमन्त्रीको उम्मेदवार बन्न कि दलको नेता हुनुपर्ने नभए केन्द्रीय समितिले औपचारिक निर्णय गर्नुपर्ने हुन्छ।पार्टी सभापति कोइराला भने अहिले दलको निर्वाचन गराउन नसकिने भन्दै परिस्थिति मिले फेरि आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने र त्यो हुन नसके केन्द्रीय समितिबाट निर्णय गरेर प्रधानमन्त्रीको उम्मेदवार तोक्ने मनस्थितिमा छन्।











