१९ असोज, काठमाडौं । अघोषित रूपमा नाकाबन्दी गरिरहेको भारतकै नेपालस्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन माग गरेको छ । नेपाली जनतालाई तडपाई रहेको भारतले उल्टै आयल निगमसँग इन्धन माग्नु लज्जास्पद भएको टिप्पणी विश्लेषकहरुले गरेका छन् ।
नेपालस्थित भारतीय दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग फ्याक्समार्फत पत्राचार गरेको हो। भारत लगायत अन्य देशका दूतावासले समेत इन्धन माग गर्दै पत्राचार गरेको जानकारी आयल निगमका अधिकारीहरुले बताएका छन् ।
भारतीय दूतावासलगायत करिब १६ दूतावास र कूटनीतिक नियोगले इन्धन माग गरेका छन्। माग गर्नेहरूमा भारत, मलेसिया, मेक्सिको, म्यानमार, अस्ट्रेलियालगायत दूतावास छन्। ती निकायहरूले पत्रमार्फत एक सयदेखि डेढ सय लिटरसम्म इन्धन उपलब्ध गराइदिन आग्रह गरेको निगमका अधिकारीहरूले बताए। उक्त इन्धन एक साताका लागि भएको ती अधिकारीले बताए।
निगमका प्रबन्ध निर्देशक गोपाल खडकाले इन्धनबिना दैनिक कार्य सम्भव नभएकाले कार्य सहज रूपमा सञ्चालन गर्न भारतलगायत अन्य दूतावासले इन्धन माग गरेको बताए।
भारतीय दूतावास लगायतको पत्रमा हस्ताक्षर गरेर वितरण विभागमा सिफारिश गरेको पनि खड्काले जानकारी दिए ।
भारतीय आयल निगमले अहिले मागको दश प्रतिशतमा मात्र इन्धन दिएको आयल निगमले जनाएको छ । त्यही दश प्रतिशत इन्धन नेपाल भित्र्याउनका लागि समेत धेरै समस्या खेप्नु परेको छ ।












