१८ असोज, भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेशमा भईरहेको आन्दोलन र नाकाबन्दी जारी रहने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले नयाँ सरकार निर्माणको चलखेलमा राजनीतिक दलहरु केन्द्रित बनेकाले वार्ता केवल देखावटी बन्दै गएकाले आन्दोलन र नाकाबन्दी जारी रहने बताउनु भएको हो ।
अध्यक्ष ठाकुरले अनौपचारिक भेटघाटमा तीन दलका नेताहरुले मधेशको माग पुरा गछौं भन्दै फेरी कोठे बैठकमा बसेर अर्कै चलखेल गर्ने गरेको र देखावटी वार्ता टोली गठन भइसकेको भन्दै हालसम्म स्पष्ट रोड म्याप बिनाको वार्ता टोली आए वार्ता नहुने बताउनु भयो ।

नेपालमा अघोषित रुपमा भारतले गरेको नाकाबन्दी हल्ला भएको भन्दै उहाँले मधेशमा सरकारले गरेको दमन र हिंसाका कारण स्थानिय घर छाडेर सिमामा जानु पर्ने बाध्यता रहेकाले नाकाबन्दी गर्न आन्दोलनरत पक्ष बाध्य भएको बताउनु भयो ।
अध्यक्ष ठाकुरले आम हड्ताल र नाकाबन्दीले उपत्यकालाई दबाब परेता पनि त्यसको प्रत्यक्ष मारमा तराई परेको भन्दैं ५२ दिन सम्म पनि सरकाले मधेशका नागरिकलाई आफ्नो नागरिक सम्झेर समस्या सम्बोधन तर्फ ध्यान दिन नसकेको र विभेदको नीतिले हेर्ने परम्परा बाँकि नै रहेको आरोप लगाउनु भयो ।
अध्यक्ष ठाकुरले आन्दोलन रहर नभइ बाध्यता भएको भन्दै मधेशमा उठेका चार माग सिंमाकन, समावेशी समानुपातिक, निर्वाचन क्षेत्र र नागरिकताका विषयलाई सम्बोधन नगरिए आन्दोलनले अझैं उग्र रुप लिने बताउनु भएको हो ।
उहाँले मधेशमा कतै सुरक्षाको अवस्था नभएको र सरकारले दमनको नीति अप्नाएकै कारण दिन प्रतिदिन मधेश आक्रमक बन्दै गएको टिप्पणी गर्नु भयो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीका घुमुवा प्रहरी पठाएर आन्दोलनलाई हिंस्रक बनाएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भन्नु भयो मधेशमा ४५ जनाको मृत्यु भईसकेको र हजारौ संख्यामा घाईतेका साथै हजारौं घरपरिवार बिस्थापित बन्नु परेको छ ।
दक्षिण तर्फको नाकाबन्दी पश्चात सरकारले उत्तरतर्फको नाका खोल्न नसक्दा नेपालीले भोग्नु परेको पिडालाई समाधान गर्न उत्तरतर्फको नाका खोल्ने प्रसंगमा उहाँले भन्नु भयो सरकारमा रहेका दलहरुले यस तर्फ चासो दिने हो । हामीले चाहेर पनि केहि हुन नसक्ने भन्दै उहाँले छिमेकीहरुसँग राम्रो सम्बन्ध छ भन्ने सरकारले जन समस्याको जिम्मा लिएर समस्या समाधान गर्न अग्रसर बन्नु पर्नेमा जोड दिनुभयो ।











