१८ असोज, काठमाडौं । प्रधानमन्त्री पदको दौडमा कांग्रेस र एमाले दुवै दलका नेता उत्रने भएका छन्। प्रमुख दावेदार मानिएका एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पद छाड्न कांग्रेसले नमानेपछि कांग्रेस र एमालेबीच प्रधानमन्त्री पदका लागि प्रतिश्पर्धा हुने भएको हो ।
एमाले स्थायी समितिको आइतबार बसेको बैठकले सर्वसम्मतिबाट पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषित गरी उनको पक्षमा सहमति जुटाउन पाँच सदस्यीय समिति पनि गठन गरेको छ। तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री पद त्यागको घोषणा गरिसकेको सुशील कोइरालाले समेत पदमै रहने योजना बनाएका छन् ।
यसैबीच कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि सहमतिको सम्भावना कम रहेको र बहुमतीय पद्धतिबाटै प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना रहेको बताएका छन्।राष्ट्रपति डा। रामवरण यादवले एक साताभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न गत शुक्रबार आह्वान गरिसकेका छन्।
एमाले स्थायी समितिको बैठकमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारियोस् भनी उपाध्यक्ष भीम रावलले प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समर्थन गरेपछि सर्वसम्मत निर्णय भएको थियो।
पार्टीभित्र नेता नेपाल पक्षधर भनेर चिनिएका उपाध्यक्ष रावलले नै ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि उनी सर्वसम्मत उम्मेदवार भएका हुन् । यसअघि प्रधानमन्त्री भएका नेता नेपाल र खनाललाई पनि एमालेले सर्वसम्मत निर्णय गरेर पठाएको थियो।

बैठकले राष्ट्रिय सहमतिको सरकार वा बहुमतीय सरकार जे भए पनि ओलीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। संविधान जारी भई संसद्को बैठक बसेको एक साताभित्र प्रधानमन्त्रीको निर्वाचन हुने व्यवस्था भएबमोजिम प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो।
राष्ट्रपति डा रामवरण यादवले गत शुक्रबार राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरिसकेका छन्।आउँदो शुक्रबारसम्म राष्ट्रिय सहमतिको सरकार गठन नभए राष्ट्रपतिले पुनः बहुमतको सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ।
‘सम्भव भएसम्म राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि सहमति जुटाउने र नभए बहुमतीय आधारमा हुने प्रधानमन्त्रीको निर्वाचनमा अध्यक्ष ओलीलाई अगाडि सार्ने सर्वसम्मत निर्णय भएको छ’, स्थायी समिति सदस्य शंकर पोखरेलले बैठकपछि भने । उनले यसअघि कांग्रेससँग भएको सहमतिअनुसार पनि ओली प्रधानमन्त्री बन्ने दाबी गरे।
कांग्रेसका विभिन्न नेताले ओलीलाई प्रधानमन्त्री बनाउनु हुन्न भनेर दिने गरेको अभिव्यक्तिको कुनै अर्थ नभएको पनि पोखरेलले बताए । ‘कांग्रेसका कुनै नेताले के भने त्यसको अर्थ छैन। अहिलेसम्म प्रधानमन्त्री सुशील कोइरालाले ओलीलाई प्रधानमन्त्री बनाउन सहमति गरेको छैन भनेर कतै भन्नुभएको छैन र बनाउनुहुन्न पनि भनेको छैन’, उनले भने।
राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न आह्वान भइसकेको सन्दर्भमा १६ बुँदेलगायत दलहरूबीच भएका सहमतिलाई ध्यान दिँदै ओलीको नेतृत्वमा सरकार गठन गर्न पहल गरिने पोखरेलले बताए। उनले एमाले विगतमा भएका भद्र सहमति कार्यान्वयन गर्न आफू पनि तयार भएको र अन्य दल पनि तयार हुनुपर्नेमा जोड दिए।
ओलीलाई प्रधानमन्त्री बनाउन दलहरूसँग छलफल गरी समर्थन जुटाउन ओलीकै संयोजकत्वमा गठित समितिमा वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष वामदेव गौतम र विद्या भण्डारी छन्।बैठकले संविधान जारी भइसकेको नयाँ सन्दर्भमा पार्टीको संगठनात्मक संरचनामा आवश्यक परिवर्तन गर्ने र विधान संशोधन गर्नेलगायतका विषयमा आवश्यक गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मा दिने निर्णय पनि गरेको छ।
यसैबीच कांग्रेसका पदाधिकारीहरूको आइतबार बसेको बैठकले सहमतीय सरकार बन्न नसके आफ्नै नेतृत्वमा सरकार गठनका लागि गृहकार्य गर्ने निष्कर्ष निकालेको छ। दलहरूबीच सहमति हुन नसकेर कुनै दलले स्पष्ट बहुमत पनि पुर्याउन नसके आफ्नै नेतृत्वमा अधिकतम सहमतिको सरकार गठनका लागि प्रयास गर्ने कांग्रेसका एक पदाधिकारीले बताए।
अर्का एक पदाधिकारीले भने, ‘वर्तमान प्रधानमन्त्री कोइरालालाई नै निन्तरता दिने संकेत पनि संस्थापन पक्षबाट आएको छ।’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीले उम्मेदवारी दिने नदिने र दिँदा कसको उम्मेदवारी दिने भन्ने निर्णय गर्नुपर्ने ती पदाधिकारीले बताए।
बैठकका बारेमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अन्नपूर्णसँग भने, ुकांग्रेस पदाधिकारीको निष्कर्ष सहमतिकै सरकार गठन गर्नु हो । त्यसका लागि आजभोलिमै प्रमुख तीन दलबीच सहमतिको प्रयास गरिनेछ। प्रमुख तीन दलपछि संसद्मा रहेको ३२ दलकै सर्वदलीय बैठक आह्वान गरिनेछ ।’ उनले सहमति कायम हुन नसकेमा बहुमतीय प्रणालीमा जानुपर्ने बताए।
कांग्रेसको निर्णयअनुसार सोमबार प्रमुख तीन दलको बैठक बस्ने भएको छ। पौडेलले प्रधानमन्त्रीमा प्रमुख तीन दलको साझा उम्मेदवार बन्नसक्ने कुरालाई हाँसोमा टार्दै भने, ‘सहमतिका लागि पहिलो प्रयासबाट धेरै कुरा थाहा हुनेछ।’
जेठ २५ गते भएको १६ बुँदे सहमतिअनुसार एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुपर्ने होइन र भन्ने जिज्ञासामा पौडेलले भने, ‘त्यसबारे मलाई थाहा छैन। मेरो जानकारीमा त्यस्तो कुरा रहेन।’
बैठकमा एक पदाधिकारीले भावी सरकार गठनका सम्बन्धमा ‘भद्र सहमति’ के हो त्यसबारे स्ष्ट गर्न सभापति कोइरालासँग माग गरेका थिए। भद्र सहमतिअनुसार प्रधानमन्त्री कोइराला राष्ट्रपति, एमाले अध्यक्ष ओली प्रधानमन्त्री र एमाओवादीका महासचिव कृष्णबहादुर महरा सभामुख हुने भनिएको थियो।
बैठकमा पार्टीको १३ औं महाधिवेशनको तयारी, संविधानसभाबाट संविधान जारी गरेपछि मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीले अपनाउनुपर्ने नीतिलगायतका बारेमा छलफल भएको थियो। महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गर्न सभापति कोइरालासँग आग्रह गरेका थिए।











