१८ असोज, काठमाडौं । भारतीय निर्देशनमा काम गर्दै आएको आरोप खेपीरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही दिन यता राजनीतिक दलका नेताहरुलाई गम्भीर आरोप लगाउने अभिव्यक्ति दिन थालेका छन् । राजनीतिक दलका नेतामा देखिएको राष्ट्रियता केही दिनमै सकिने बताएका भट्टराईले प्रचण्डलाई अख्तियारले समात्ने दावी गरेका छन् । केही दिनभित्रै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु अख्तियारको फन्दामा पर्ने उनले बताएका हुन्।
नवलपरासीको देवचुली नगरपालिका अन्तर्गत चौधरीग्रामका मजदुरहरुले आइतबार बिहान गरेको स्वागत तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले एकीकृत नेकपा माओवादी भ्रष्टाचारीको अखडा भएको बताए । ‘एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो । त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ’, भट्टराईको भनाई उदृत गर्दै एक सहभागीले भने, ‘एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्र अख्तियारको फन्दामा पर्दैछन् ।’
नयाँ सरकार गठन हुने समयमा पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिइएको छ ।
पार्टी परित्याग गर्ने दिनमा समेत भट्टराईले एमाओवादी नेतृत्वको अपारदर्शी आर्थिक कारोवार गर्ने गरेको आरोप लगाएका थिए । एमाओवादी नेतृत्वले भने भट्टराईका क्रियाकलाप अपारदर्शी हुने गरेको बताउँदै आएको छ ।












