१७ असोज, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । १६ बुँदेमा भएको भद्र सहमतिअनुसार कोइरालाले ओलीलाई प्रधानमन्त्री बनाउने बताएका थिए । कोइरालाले तीनपल्टसम्म बोल्दै अबको प्रधानमन्त्री तपाईं नै हो भनी ओलीलाई भनेको कुरा एमाओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक गरेका छन् ।
कोइरालाले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्ताव समेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेका छन् ।
प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।

एमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्न र त्यसलाई कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिने भन्दै सहमतिबाट पछि नहट्न कोइरालालाई आग्रह गरेका थिए। १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा प्रचण्डले उल्लेख गरेका थिए । ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व मानेनन् । कोइरालाले आफ्नै नेतृत्वमा सरकार बनाउने ईच्छा प्रचण्डसँग व्यक्त गरेका थिए ।
प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न शनिबार साँझ ६ः२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।











