१६ असोज, काठमाडौं । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधन भएको छ । शनिबार साँझ अमेरिकामा गुरुङको निधन भएको हो । नेपाली समयअनुसार साँझ ८ः३० बजे महामन्त्री गुरुङको निधन भएको जानकारी राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले नेपालदेश डटकमलाई दिए । गुरुङको ६१ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।
महामन्त्री गुरुङ सुरुमा ग्याष्ट्रिक समस्याले काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए । नर्भिकले रिफर गरिएपछि उनलाई नयाँ दिल्ली लगिएको थियो । नयाँ दिल्लीबाट पुनः उनलाई अमेरिका लगिएको थियो । अमेरिकाको अस्पतालले पनि निको नहुने बताएपछि अमेरिकाको कोलोराडोस्थित आफ्नै परिवारसँग उनी बस्दै आएका थिए । पत्नी र छोराको साथमा रहँदा नै उनको निधन भएको हो ।
गुरुङको शव नेपाल ल्याइने जानकारी राप्रपाका सहप्रवक्ता श्रेष्ठले दिए । गुरुङको जन्म स्याङ्जा जिल्लाको पञ्चमूल गाविसमा भएको हो । विद्यार्थी कालदेखि नै उनी राजनीतिमा सक्रिय हुँदै आएका थिए ।













