१६ असोज, नयाँ दिल्ली । नेपाल भारतका आठ नाकामध्ये वीरगञ्जको रक्सौल बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गर्ने सहमति दुई देशका अधिकारीहरुबीच भएको छ । भारतीय अधिकारीहरु र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायबीच शनिबार दिल्लीमा यस्तो सहमति भएको हो । दुवै पक्षबीच नाकालाई सहज बनाउने सहमति भएको जानकारी राजदूत उपाध्यायले दिए । नेपाल पसेको सवारी साधनको सुरक्षाको जिम्मा नेपालले लिने ग्यारेन्टी आफूले प्रस्तुत गरेको भन्दै उपाध्यायले भारतीय पक्ष ढुवानीका सवारी साधन नेपाल पठाउन तयार भएको बताए ।
नयाँ दिल्लीमा शनिबार बसेको साउथ ब्लकको बैठकले नेपालसँग मिलेर स्थानीय स्तरमा अनुगमन गरेर रक्सौलबाहेकका बाँकी नाका सूचारु गर्ने निर्णय गरेको थियो । अनुगमन जारी रहेकोले आजैबाट नाका सूचारु हुने नयाँ दिल्लीले जनाएको छ । बीरगञ्जमा आन्दोलनकारीहरुको संख्या बढी भएकोले त्यहाँ भने तत्काल सूचारु नहुने भएको हो ।
साउथ ब्लकले नेपालका प्रमुख राजनीतिक दलहरुले बार्ता थालेको र संविधान संसोधनको प्रक्रिया समेत अगाडि बढाएको अवस्थामा अब मधेसी नेताहरुलेपनि बार्ता गर्नु पर्ने निस्कर्ष निकाल्दै नाका सूचारु गर्नु पर्ने निष्कर्ष निकालेको हो ।
नेपाल र भारतवीच रहँदै आएको कन्फ्यूजन हटेकोले भारतले आफ्नो च्यानलबाट मधेसी नेताहरुलाई बार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिरहेको बताइएको छ । यो भारतको यो निर्णयले मधेसी नेताहरु घरको न घाटको भएका छन् ।
भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले शुक्रबार नयाँ दिल्ली पुग्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दुगलसँग भेटेर यथार्थ अवस्था बताएका थिए । सो भेटमा नेपालका जनताले दुख पाउनु हुँदैन भन्नेमा आफूहरु सचेत रहेको भन्दै गत्यारोध हट्ने विश्वास मोदीका सुरक्षा सल्लाहकारले ब्यक्त गरेका थिए ।
राजदूत उपाध्यायले ढिलोमा आइतबारसम्ममा वीरगञ्ज बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गर्ने गरी अनुगमन भइरहेको जानकारी दिएका दिए ।
उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटकोलागि पहल गरिरहेको बताएका छन ।












