१६ असोज, काठमाडौं । तराईमा आन्दोलनरत दलहरुका दुई माग पूरा गर्दै नाकाबन्दी फिर्ता लिन सरकारले गरेको आग्रह तत्काल नमान्ने मधेसी मोर्चाले जनाएको छ । नेपालदेश डटकमसँग कुराकानी गर्दै मोर्चामा आबद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमनले आफूहरुका सबै माग त्यतिकै महत्वपूर्ण रहेकोले तत्काल नाकाबन्दी स्थगित नगर्ने दावी गरे । नाकाबन्दीले सरकार केही झुकेको भन्दै सुमनले अझै सरकारलाई झुकाएर आफूहरुका माग पूरा गराउने दावी गरे । संविधान संशोधन गर्ने र समानुपातिक र समावेशीसम्बन्धि दुई मागसँगै सिमांकनलगायतका अन्य माग पनि जोडिएको उनले बताए । आफूहरु तत्काल आन्दोलनबाट पछि नहट्ने जिकिर उनले गरे ।

नाकाबन्दी भारतले गरेको नभई आफूहरुले गरेको जिकिर पनि उनले गरे । सुनसरीमा चीनको झण्डा सद्भावनाका कार्यकताले किन जलाएको भनी गरिएको प्रश्नको जवाफ दिंदै आफ्ना कार्यकर्ताले झण्डा नजलाएको तर्क गरे । चीनको झण्डा जलाएकोमा आफूहरुले निन्दा गरेको भनाइ उनको थियो ।











