१६ असोज, काठमाडौं । नेपालको तराई क्षेत्रमा भएको आन्दोलनलाई कारण देखाउँदै भारतले गरेको अघोषित नाकाबन्दी खोल्ने तयारी भारतले गरेको छ । संयुक्त राष्ट्र संघदेखि आफ्नै देशभित्र मोदी सरकारको तीव्र आलोचना भएपछि भारतीय सरकार घुँडा टेक्ने अवस्थामा पुगेको हो । भारतका जनता तथा कांग्रेस आई लगायतले मोदीको तीव्र आलोचना गरेका कारण चुनावमा समेत विजेपीलाई ठूलो धक्का लाग्ने सम्भावना देखिएको छ । फलस्वरुप नाकाबन्दी नगरी नेपालतर्फको ढुवानी सुचारु गर्न भारत सरकारले शनिबार निर्देशन दिने संकेत आएको छ ।
काठमाडौंमा राजनीतिक परामर्श गरेर शुक्रबार बिहान दिल्ली फर्किएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग दिउँसो भेटवार्ता गरेका थिए । सुरक्षा सल्लाहकारबाट द्विदेशीय सम्बन्धको सहजीकरणमा आवश्यक उपाय अवलम्बन गर्न लागिएको सकारात्मक संकेत पाएका राजदूत उपाध्यायले यसबारे छिट्टै नतिजा देख्न सकिने प्रतिक्रिया दिएका छन् । बिहीबार र शुक्रबार अपराहन प्रधानमन्त्री कार्यालयमा भएको विशेष परामर्श बैठकमा पनि विभिन्न कारणले ठप्प भएको ढुवानीरपारवहनको स्थितिबारे प्रधानमन्त्रीको तहबाट चासो राखिएको कूटनीतिक स्रोतले जनाएको छ ।
आफ्नै व्यवसायका क्रममा दिल्ली उत्रिएका उद्योगी विनोद चौधरीले पनि शुक्रबार प्रधानमन्त्री कार्यालयसहितको निकायमा उच्चस्तरीय भेट र परामर्श गरेका थिए । नाकाबन्दीसँग जोडिएको विषय र नेपालको राजनीतिक विकासक्रममा देखिएको दिल्लीसँगको असमझदारी पनि धेरै हदमा टुंगिएको आफूले पाएको चौधरीले प्रतिक्रिया दिएका छन् । २ दिनभित्रैमा भारतबाट सहज पारवहन र ढुवानीका काम सुरु हुने संकेत आफूले पाएको जानकारी उनले दिएका छन् ।
भारतमै बदनाम भएपछि भारतीय जनता पार्टी बिजेपीले नेपालमा भारतले नाकाबन्दी गरेको भन्ने समाचारलाई झूटा, सतहीरुपले अपव्याख्या गरिएको आरोप लगाएर चोखिने प्रयत्न गरेको छ । बीजेपीले नेपालमा बढदो भारतविरोधी गतिविधिसँगै भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका काम भएकोमा असन्तुष्टि जनाउँदै शुक्रबार विज्ञप्ति समेत जारी गरेको छ । भारतमै पनि मोदीको पुत्ला दहन हुने देखेर बिजेपी त्रसित बनेको छ ।
बीजेपीका अर्का वरिष्ठ नेता भगतसिंह कोसियारीले भारत सीमावर्ती मधेस क्षेत्रमा भडकिएको अशान्ति र मधेसी समुदायको धर्ना र जुलुसका कारण भारतबाट सामान निर्यात हुन नसकेको दाबी गरेका छन् ।
अघोषित चरणमा अघि बढेको नाकाबन्दीका कारण नेपाली सामाजिक र आर्थिक तहमा चर्को कठिनाइ उब्जिएपछि चिनियाँ नाकाहरू खुल्ने संकेतले भारत झस्किएको छ । चीनियाँ नाका खुलेमा भारतलाई ठूलो व्यापार घाटा लाग्ने छ । यसले मोदी सरकार भारतमा थप आलोचित बन्ने छ । चीनबाट नेपालले पेट्रोल ल्याउने तथा तातोपानी र रसुवागढी नाका खुलाउन हरसम्भव प्रयत्न गर्नेजस्ता समाचार आएपछि दिल्लीलाई ठूलो झटका लागेको हो ।
बिहार राज्य सभाको चुनावी दौडमा प्रमुख प्रचारक भएर शुक्रबारदेखि चुनावी सभाहरूमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जाँदैछन् । चुनावी सभामा जानुपूर्व नै मोदीले गृहमन्त्रीलाई स्थिति सहज बनाउन निर्देशन दिएको जनाइएको छ ।













