१४ असोज, पोखरा । पोखरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको पुत्ला जलाउँदै राजीनामा मागेका छन् । भारतिय टिभी च्यानलहरु प्रसारणमा रोक लगाएका केबल व्यवसायीहरुलाई स्पष्टिकरण सोधेको र २४ घन्टा भित्र केबल संचालन गर्नको लागि अल्टिमेटम दिएको विरोधमा सत्ताधारी नेकपा एमाले निकट अनेरास्ववियु समर्थित विद्यार्थीहरुले नै सरकारका प्रवक्ताको पुत्ला जलाएका छन् ।
बुधबार साँझ सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका साथै स्थानिय सर्वसाधारणहरुको पनि उपस्थिती रहेको विद्यार्थी नेता संकल्प ढुंगानाले बताए । पुत्ला जलाउँदै विद्यार्थीहरुले भारत सरकार, मन्त्री रिजाल र मधेशी दलहरु विरुद्ध पनि नाराबाजी गरेका थिए ।
सो कार्यक्रममा बोल्दै अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्य अनिल प्रसाद आचार्यले नेपाली जनता आफ्नो चुलोमा आगो नबले पानी पिएर बाँच्ने तयार भएको बेला मन्त्री रिजालको यो कदमले नेपाली जनताको भावनामा ठेस पुगेको बताए । उता सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता संकल्प ढुंगानाले पिआर धारी मन्त्रीले भारतको एजेन्ट बन्न खोजेकोमा खेद प्रकट गरे ।
“विस्तारवादीहरुलाई सघाउ पुग्ने गरी कदम चालेर मन्त्रीले ठुलो गल्ती गरेका छन्”, ढुंगानाले भने, “यस्ता मन्त्रीले तत्काल राजिनामा दिनुपर्छ ।”













