१४ असोज, काठमाडौं । भ्रष्ट्राचार गरेको अभियोगमा वर्खास्त गर्न अख्तियारले सिफारिश गरेका दुई मन्त्रीमध्ये एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएका हुन् । प्रधानमन्त्री कोइरालाको राजीनामा शुक्रबार आउनुभन्दा एक दिन पहिले मन्त्री पौडेलले राजीनामा दिएका हुन् । अकुत भ्रष्ट्राचार गरेकी राधा ज्ञवालीले भने अटेर गरेर बसेकी छिन् ।
अख्तियारको पत्रपछि प्रधानमन्त्रीले उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पौडेललाई राजीनामा गराउन र राजीनामा नगरे बर्खास्त गर्न जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गराएका थिए । तर प्रधानमन्त्री कोइरालाको आग्रहलाई ओलीले मानेका थिएनन् ।

बर्खास्त गर्न लागेको जानकारी पाएपछि मन्त्री पौडेलले राजीनामा दिएका हुन् ।
पौडेलमाथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशव बिष्टलाई नियुक्त गरेकोमा अख्तियारले आपत्ति जनाएको थियो । बिष्टमाथि विदेशमा खेलाडी लगेर छाडेको लगायतका अभियोग रहेको अख्तियारको दावी छ ।
उर्जामन्त्री ज्ञवालीको राजीनामा भने अहिलेसम्म पुगेको छैन । उनको राजीनामा नगए आजै साँझसम्म बर्खास्त गर्ने तयारी प्रधानमन्त्रीले गरेका छन् । आफूले राजीनामा दिनु एक दिनपहिले एमालेका मन्त्रीहरुलाई गलहत्याएर भए पनि प्रधानमन्त्री कोइरालाले आफूलाई भ्रष्ट्राचारविरोधी भएको सन्देश दिने कसरत गरेका हुन् । अत्यधिक भ्रष्ट्राचार गरेको भनी सर्वत्र आलोचित अर्थमन्त्री रामशरण महत र संचारमन्त्री मिनेन्द्र रिजाललाई भने कोइरालाले च्यापिरहेका छन् ।











