दिनेश ठाकुर / नेपालगञ्ज,असोज १४
करिब एकसातादेखि अघोषित नाकाबन्दी गरेको भारतले नेपालगञ्जस्थित जमुनाह नाकामा केही खुकुलो बनाएको छ । भारतीय पक्षले प्रवेशको अनुमति दिएपछि बुधबार राती पेट्रोल बोकेका तीन ट्याङ्कर ग्यास बुलेट एउटा र हवाई इन्धन दुई ट्यांकर नेपाल भित्रिएको सीमास्थित जमुनाह प्रहरी कार्यालयले जनाएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालगञ्ज नाका भएर पहिलोपटक पेट्रोल भित्रिएको हो ।
भारतीय पक्षले इन्धन रोकेर छिट्टै सड्ने खालका वस्तु मात्रै छोडेपछि नेपालगञ्ज भन्सार कार्यालयले बुधबारदेखि ती वस्तुको भन्सार स्वीकृती रोकेको छ । भन्सार प्रमुख राजेन्द्र हमालका अनुसार बुधबार भित्रिएका बाहेक अघोषित नाकाबन्दीपछि नेपालगञ्ज नाका भएर ६ ट्याङ्कर डिजेल, एक ग्यास बुलेट र दुईगाडी हवाई इन्धन मात्रै भित्रिको तथ्यांक छ । सीमा क्षेत्रमा पेट्रोलिय पदार्थ बोकेको ६० बढि ट्याङ्करहरु एकसातादेखि रोकिएका छन् । भारतीयपक्ष आफैले सीमामा नेपाल आउन लागेका गाडीहरु रोकेको भए पनि पछिल्लो समय रोड परमिट सकिएको बताउन थालेको नेपाली सुरक्षाकर्मीले जनाएका छन् ।

सीमामा एकसातादेखि रोकिएका इन्धन बोकेका ट्याङ्कर छिटो प्रक्रिया पूरा गरी छोड्नका लागि नेपाली पक्षले भारतीय भन्सार अधिकारीसँग पटकपटक आग्रह गर्दै आएको छ ।
नेपालगञ्जमा भने पेट्रोलियम पदार्थको अभावमा हाहाकार छ । कतिपय मोटरसाइकल चालक पेट्रोल भर्नका लागि सीमापारी भारतीय बजारमा पुग पनि तेल भर्न नदिइएको गुनासो गरेका छन् । डिजेल पाइने पम्पमा पनि रातभर लाइन लाग्नु परेको गाडी चालकहरुले जनाएका छन् ।











