१४ असोज, काठमाडौं । १४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच खटपट सुरु भएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि संसदको अधिवेशन सुरु हुनु दुई दिनअघि कोइराला र ओलीबीच खटपट सुरु भएको हो । पदबाट आफै हट्ने समयमा प्रधानमन्त्री कोइरालाले ओलीलाई एमालेका दुई मन्त्री फिर्ता बोलाउन आग्रह गरेपछि कोइराला र ओलीबीच समस्या सुरु भएको हो । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी ओली अस्वीकार गरेका छन्।

कोइरालाले मंगलबार ओलीलाई टेलिफोन गरेर अख्तियारको निर्देशनका पालना गर्नुपर्ने भन्दै बुधबार साँझसम्म खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए।
ओलीले भने अख्तियारको पत्र हेरेरमात्रै त्यस विषयमा जबाफ दिने जानकारी गराउँदै तत्काल फिर्ता नबोलाउने संकेत गरेको बुझिएको छ। ‘दुई मन्त्री फिर्ता बोलाउने विषयमा अख्तियारले पत्रमा के लेखेको छ त्यो हेरेर जबाफ दिने अध्यक्षज्यूले जानकारी गराउनुभयो’ ओली निकट स्रोतले भन्यो।
अख्तियारले ऊर्जामन्त्री ज्ञवाली र खेलकुदमन्त्री पौडेलले पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।एमालेले मन्त्री फिर्ता नगरे प्रधानमन्त्रीले अख्तियारको लिखित पत्र भएकाले बाध्य भएर हटाउने चेतावनी मंगलबार नै ओलीलाई दिइसकेका छन्।
‘एमालेले मन्त्री फिर्ता नगरेर अख्तियारको निर्देशन मान्नुपर्ने सरकारको बाध्यता भएकाले बर्खास्त हुन्छ’, बालुवाटार निकट स्रोतले भन्यो।











