१३ असोज, काठमाडौं । पेट्रोल अभावका कारण देशभरका जनताले कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि सरकारले लगाएको जोरविजोर पालो प्रणाली कारण राजधानी काठमाडौंका सडक सुनसान प्रायः बनेका छन् ।

पेट्रोल अभाव र जोरविजोर प्रणालीको फाइदा उठाउँदै सार्वजनिक सवारी साधन संचालकहरुले यात्रुहरुलाई गुन्द्रुक खाँदेजस्तै खाँदेका मात्र छैनन् दशैंमा खसी बोकेजस्तै छतभरि पनि यात्रु बोकेका छन् ।
सवारी साधनको सिमितताका कारण यात्रुहरुले छतमा समेत मुस्किलले ठाउँ पाएका छन् ।
तर बसभित्र कोचाकोच, ढोकामै दुई तीनजनासम्म झुण्डिने मात्र होइन छतभरि समेत नअटाएर छतमा चढ्ने भर्याङमा झुण्डिएर समेत यात्रुहरुले यात्रा गरेका छन् ।
यस्तो अति जोखिमपूर्ण यात्रा देख्दादेख्दै पनि राजधानीका सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले देखेर पनि नदेखे झैँ गरेर दिन विताए ।
यात्रुहरुको कष्टकर यात्रामा बस संचालकहरुले यात्रुलाई सहुलियतको साटो सधैंभन्दा बढी भाडा असुलेको गुनासो समेत यात्रुहरुले गरेका छन् । यसको अनुगमन सरकारले गरेको छैन ।
के पेट्रोलको अभाव भयो भन्दैमा जनताको जिउज्यानप्रति सरकारको दायित्व हुँदैन ? सरकार टुलुटुलु हेरेर बस्न मिल्छ ?













