एमाले अध्यक्ष केपी ओलीले नाम र पद नलिई उपराष्ट्रपति परमानन्द झालाई राजनीति नगर्न सुझाव दिएका छन् । मंगलवार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै ओलीले राजनीति नगर्ने संस्था चुप लागेर बसेको राम्रो हुने पनि बताए ।
‘हिजो मात्र एक जना राजनीति नगर्ने संस्थाको व्यक्तिले विज्ञप्ती निकाल्नुभएको रहेछ । यो संविधान संविधानसभाले बनाएको हो । ठट्टा होइन ’ ओलीले भने, ‘आदरणीय महामहिम, राजनीति नगर्ने संस्थाको मानिसले राजनीति नगरेकै राम्रो हुन्छ । अनावश्यक भावनामा बग्नु राम्रो हुँदैन ।’
सोमबार विज्ञप्ती जारी गरेर उपराष्ट्रपति झाले राज्यले मधेसका मागको विषयमा विभेधपूर्ण व्यवहार गरेको आरोप लगाएका थिए ।
ओलीले अघोषित नाकाबन्दी हटाएर आपुर्ति सहज बनाउन पनि माग गरे । ‘दुनियाँले स्वागत गरेको छ । ठुलो राष्ट्र भारत किन सानो कुरामा अल्झिएको होला ।’ ओलीले भने, ‘यसले आपुर्ति सहज बनाउनुपर्छ । लामो समय राख्न हुँदैन । म तुरुन्त अवरोध हटाउन आग्रह गर्दछु ।’
ओलीले आफुहरु जायज माग पुरा गर्न छलफलमा बस्न तयार रहेको बताए । तर, राष्ट्रिय एकता कमजोर पार्ने, साम्प्रदायिक हिंसा भड्काउने र सामाजिक न्याय भत्कने मागहरु कुनै पनि हालतमा पुरा गर्न नसकिने ओलीको भनाई छ ।












