१२ असोज, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपालको तराई आन्दोलनका कारण भारतको कालो कर्तुत अन्तर्राष्ट्रिय रुपमा प्रष्ट भएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्र संघको सुरक्षा परिषद् सदस्यमा भारत सामेल हुन लागिरहेका बेला उसको व्यवहारकै कारण नाङ्गिएको विजुक्छेले बताए । मधेशका केही नेताहरुका लागि भारतले गरेको अघोषित नाका बन्दीका कारण भारतको अन्तर्राष्ट्रिय छवि धुमिल भएको उनले ठहर गरे ।

मधेशमा भइरहेको आन्दोलनका नेतृत्व गर्नेहरु देशद्रोही भएको भन्दै विजुक्छेले आप्mनो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हार गुहार गर्नु नालायकीपनको पराकाष्टा भएको बताए । मधेश आन्दोलनमा कामदार वर्गको सहभागिता नभएर कालो बजारिया र नेपाललाई विखण्डन पार्नेहरुको सहभागिता अधिक रहेको समेत विजुक्छेले प्रष्ट पारे ।
वार्ताका बहानामा विभिन्न स्थानमा परिचालन गरिएका सेना फिर्ता गरेर नेपाल सरकारले गलत निर्णय गरेको तर्क समेत उनले गरे ।
सरकारले उत्तर नाकालाई प्रथामिकता दिएर खोल्न नसक्दा र विगतमा नेपाली सेनाका प्रमुख समेत भारत भक्त भएकाले उत्तरतर्फको नाका खुल्न नसकेको दावी उनले गरे । भारतलाई खुशी पार्न उत्तरको नाका खोल्न नसक्दा अघोषित नाकाबन्दीको सास्ती नेपालीले खेप्नु परेको विश्लेषण विजुक्छेको थियो ।
अन्तर्राष्ट्रिय कानुन विपरीत गएर नेपाल जस्तो भुपरिवेष्ठित देशमा भारतले अघोषित नाकाबन्दी गर्दा समेत नेपाल सरकार चुप लागेर बस्नु र अन्तर्राष्ट्रिय अदालतमा जान नसक्नुले नेपाल सरकारको अवस्था प्रष्ट पारेको टिप्पणी उनले गरे ।
नेपालको संविधान जारी पश्चात तत्कालै संसोधनको कुरा गर्दै हिँड्ने मन्त्रीहरु नालायक भएको भन्दै विजक्छेले कुनै पार्टी र छिमेकीको दवावमा संविधान संसोधन गर्र्दै जाने काम केटाकेटीपन भएको बताए ।











