११ असोज, काठमाडौं । नेपाल आयल निगमले आजदेखी कोटा प्रणालीमा इन्धन वितरण सुरु गरेको छ ।
भारतले आपूर्तिमा अवरोध गरेपछि मौज्दात इन्धन लामो समयसम्म र्पुयाउन निगमले कोटा प्रणाली लागू गरेको हो । कोटा प्रणालीमा इन्धन बितरण गर्नका लागी निगमले काठमाडौका बिभिन्न स्थानमा पेट्रोलपम्प तोकिएको छ । निजी सवारीसाधनतर्फ मोटरसाइकललाई प्रतिसाता तीन लिटर र चारपांग्रे सवारीसाधनलाई प्रतिसाता १० लिटर इन्धन उपलब्ध गराइने निगमले जनाएको छ । सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनी बसका लागि २० लिटर र ठूला बसका लागि ३० लिटर कोटा तोकेको छ । सार्वजनिक सवारीसाधनले जोरबिजोर प्रणालीअनुसार चलेको दिन इन्धन भर्न पाउने व्यवस्था गरिएको छ । निगमले इन्धन वितरण गरेपछि सम्बन्धित सवारीधनीको ब्लुबुकमा विवरण राख्ने व्यवस्थासमेत गरेको जनाएको छ । कोटा निर्धारणपछि मौज्दात इन्धनले १५ दिनसम्म धान्न सक्ने अनुमान गरिएको छ ।













