११ असोज, काठमाडौं । साताको दोस्रो दिन सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोवार भएको छ । करिव १ महिना, ५० हजार रुपैयाँको नेरोफेरोमा कारोवार भएको सुनको मूल्य, गत साता मात्रै ८ सय रुपैयाँ वृद्धि भएको थियो । गत साताको बिहिबार ५१ हजार रुपैयाँमा कारोवार भएको सुनको मूल्य लगातार सार्वजनिक विदापछि सोमबार मात्रै नयाँ मूल्यमा कारोवार भएको हो । नयाँ मूल्य तोके पनि सोमबार सुनको मूल्य स्थिर नै कायम रह्यो ।

अमेरिकी डलरको सामान्य गिरावट र अन्तर्रा्ष्ट्रिय सेयर बजारमा आएको भारी गिरावटले लगानीकर्ताहरु सुनमा आर्क्र्षित भएसँगै सुनको मूल्य उकालो लाग्ने सङ्केतमा छ । पछिल्लो समय यूरोप फ्रान्स, जर्मनी र जापानको सेयर बजारमा गिरावट आएको छ । पछिल्लो समय विश्वको दोस्रो स्थानमा सुनको उपभोग गर्ने छिमेकी मुलुक भारतमा सुनको माग दोव्वरले बढेको छ । भारतमा सुनको माग अत्यधिक बढेका कारण पनि सुनको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।













