११ असोज, काठमाडौं । लगातारको तराई बन्द र भारतको अघोषित नाका बन्दले सेयर बजारमा उत्साहा छाउन सकेको छैन । संविधान निर्माणपछि खुलेको सेयर बजारको पहिलो कारोवार, गत सातको मंगलबार ४० अंकले घटेको सेयरबजारमा दोस्रो दिन बुधबार केहि सुधारको संकेत देखिएपनि त्यसपछिको सेयर बजार लगातार ओरालो गतिमा छ । मधेसकेन्द्रित दलहरुले राजमार्ग र भन्सार नाका केन्द्रित आन्दोलन गर्नु र भारतले अघोषित नाकाबन्दी गर्नुले सेयर बजारलाई निरन्तर झड्का दिएको हो ।

सोमबार समग्र कारोवार मापन गर्ने नेप्से परिसुचकमा १६ दशमलव ७७ अंकले गिरावट आएको छ । सोमबार सेयर बजार १ हजार १ सय ६० दशमलव शुन्य ९ अंकमा टुङ्गीयो । सोमबार क वर्गका कम्पनीहरुको मात्र कारोवार मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । सोमबार कारोवारमा आएका समुहगत परिसूचक मध्ये सबै समूहमा गिरावट आयो ।
सोमबार १ सय ७ कम्पनीहरुको कारोवार भयो भने ६ लाख ८४ हजार १ सय ४८ कित्ता सेयर खरिदविक्री भए । यस्तै सोमबार २ हजार ३ सय ६८ कारोवार सङ्ख्याबाट ४९ करोड २६ लाख २४ हजार ८ सय १३ रुपैयाँको कारोवार भयो । लगातारको मधेस बन्द र भारतको अघोषित बन्दका कारण लगानीकर्ताहरु ढुक्क भएर सेयर बजारमा लगानी गर्न नसकेको सेयर विश्लेषकहरु बताउँछन् ।













