११ असोज, रुपन्देही । नेपालीमाथि नाकाबन्दी गरिरहेका दलालहरुको प्रतिकार गर्दै स्थानीयवासीले बेलहिया नाका खुलाएका छन् । सीमा क्षेत्रमा अवरोध गर्नेहरुको प्रतिकार गर्दै भैरहवाबासीले प्रतिकार गरेका हुन्।
रुपन्देहीको बेलहिया नाका अबरुद्ध गर्दै केही मानिसहरु सोमबार पनि धर्नामा बसेका थिए । त्यसको विरोधमा स्थानीय युवाहरु धर्नास्थलमै गएर नाराबाजी गर्दै हटाएका थिए ।

प्रतिकार समूह र दलालहरुबीच झडपको स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले रोकेका थिए । नेपालका प्रहरीले प्रतिकार समूहलाई फर्काइदिएपछि भारतीय सुरक्षाकर्मीले धर्नामा बसेकाहरुलाई हटाएको थियो ।
अहिले रुपन्देहीको बेलहिया नाकामा कुनै पनि अवरोध छैन । भन्सार जाँच भएर भारत तर्फबाट मालबाहक गाडीहरु नेपाल भित्रिँदै छन् । पेट्रोल, डिजल, ग्यास, तरकारी र फलफूल बोकेका गाडीहरु नेपाल भित्रिन लागेका हुन् । तर भारतीय पक्षले भन्सारमा जाँचपासको प्रक्रियामा निकै ढिलासुस्ती गरिरहेको ब्यापारीहरुले गुनासो गरेका छन् ।











