खुम रेग्मी
१० असोज, काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालदेश डटकमसँग दुई दिनपहिले भनेका थिए – ‘भारतको विरुद्धमा गएर संविधान जारी गर्ने तीन दलका नेता ङ्याकिनेछन् । जसरी हिजो भारतको कुरा नमान्दा ज्ञानेन्द्रसँग राजतन्त्र ङ्याकियो त्यसरी नै यिनीहरु पनि ङ्याकिनेछन् ।’
अर्का राजनीतिक विश्लेषक सिके लाल भन्छन् – ‘इतिहास हेर्ने हो भने राणाकालमा एकले अर्कोमाथि गरेका आक्रमण र काटमार पनि भारतको समर्थनविना स्थापित हुन सकेनन् । २००७ सालपछि त सबै कुरा प्रष्टै छन् भरतको संलग्नताविना नेपालको राजनीति अगाडि बढेको छैन । यतिवेला तीन दलले गरेको निर्णय अगाडि बढ्न सक्दैन ।’

यी दुई विश्लेषकमध्ये सिके लालले खासगरी मधेसकेन्द्रित राजनीतिका पक्षमा बढी वकालत गरेको देखिन्छ र खासगरी उपेन्द्र यादवको पक्षमा । मधेसकै राजनीतिको वकालत नगर्ने सुरेन्द्र केसी पनि त्यही भन्छन् जुन धारणा लालको छ । दुवैले के भन्छन् भने – ‘नेपालको इतिहासको विद्यार्थी जोसुकैले बुझ्ने कुरा हो भारतको संलग्नताविना नेपालको कुनै पनि घटनाक्रम अगाडि बढेको इतिहास छैन । र, अब पनि त्यस्तो हुन सक्दैन ।’
दुवै विश्लेषकको यो प्रतिक्रिया आएको लगत्तै भारतपरस्तको आरोप खेप्दै आएका डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् । यतिवेला संविधान बनाउन रोक्ने भारतीय सबै प्रयास असफल भएपछि भट्टराईले धेरै नै खप्की खाएको हुनुपर्छ । किनभने उनले आफैले बनाएको संविधानको विरुद्धमा उभिएका छन् ।
भारतको अबको योजना
आफ्ना एजेण्टहरुमार्फत नेपाललाई अघोषित नाकाबन्दी गरेर अप्ठेरोमा पारी रहने । खाद्य सामग्री र पेट्रोलको अभाव भएपछि नेपाल जनता पनि विस्तारै तीन दलका नेताप्रति नकारात्मक हुँदै जानेछन् भन्ने भारतको बुझाइ छ ।
अर्कोतर्फ एमाओवादीबाट बाबुरामलाई अलग्याएर कमजोर बनाइसकेपछि अबको योजना एमालेभित्र फुट ल्याउने हो । केपी ओलीको अतिवादी सोच र आफ्नो भजन नगाउने एमाले नेता कार्यकर्तालाई सधैं नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिको फाइदा उठाउँदै भारतले ओलीविरोधी मत तयार पार्दै छ । फलस्वरुप ओलीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने मत एमालेभित्रै पनि बलियो हुँदै जाने छ । तर एमालेभित्र बाबुराम भट्टराईकै तहका भारतीय सहयोगी नभएकोले देशलाई संकट परेको वेला भारतलाई साथ दिने नेता बनाउन कठिनाइ हुनसक्छ ।
भारतले कांग्रेसभित्र भने आफ्नो पकड बनाइसकेको छ । भारतसँग निकट हुन नसकेका सुशील कोइरालाविरुद्ध उठ्न देउवा तयार भएर बसेका छन् । भारतसँग निकट सम्बन्ध भएको मानिने देउवाले समेत प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्ने सम्भावना छ ।
कांग्रेस, एमाले र एमाओवादीभित्र समानान्तर धार निर्माण गरी बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने भारतको योजना छ । पार्टीहरुको भागबण्डाको कुरा भएमा र मधेसी दलहरुलाई पनि सामेल गराउने वाहनामा भट्टराईलाई राष्ट्रपति र देउवालाई प्रधानमन्त्री बनाउने योजना भारतले तयार पारेको गोप्य श्रोत बताउँछ ।
राजीतिक विश्लेषक सुरेन्द्र केसीले भने झैं तीन दलका नेता ङ्याक्ने भारतीय योजना अब सतहमै आइसकेको छ । भारतीय ईच्छाविपरीत जाँदा गणतन्त्र नेपालको प्रथम कार्यकारी प्रमुख हुँदा समेत प्रचण्ड ङ्याकिएका थिए भने प्रधानमन्त्री बन्न तम्तयार भएर बसेका ओलीलाई त्यहाँ पुग्न नदिन भारतले रकम बाँड्ने चलखेल समेत गर्ने छ ।











