दिनेश ठाकुर
९ असोज, नेपालगंज । नेपालगञ्जको रुपैडिया नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच ढुंगा हानाहन भइरहेको छ ।
शनिबार बिहान रुपैडिया भन्सारमा अवरोध गर्न पुगेका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि तनावको स्थिति सृजना भएको हो । प्रदर्शनकारीहरु दशगजा क्षेत्रमा बसेर प्रहरीमाथी ढुंगा प्रहार गरिरहेका छन् । प्रहरी र प्रदर्शकारीबीच ढुंगा हानाहान सुरु भएपछि त्यहाँ भागदौड मच्चिएको छ । प्रदर्शनकारी दशगजा क्षेत्रमा रहेकाले प्रहरीले अहिलेसम्म अश्रुग्याँस प्रहार गरेको छैन ।
प्रदर्शकारीको ढुंगा लागि नेपाल प्रहरीका सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक, कमल खनाल घाइते भएका छन् । घाइते सबैको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारी तर्फ जग्दिशबहादुर सिंह, बद्रु जुजा खाँ, अमृतलाल कुर्मी, सामसिंह सोनी, ममता बनियाँ घाइते भएका छन् । उनीहरुको उपचार नेपालगञ्जमा भैरहेको छ ।












