७ असोज, काठमाडौं । सरकारले ठुला चाडपर्वका लागि आफ्ना निकायलाई परिचालन गरेर अत्यावस्यक वस्तुको अभाव हुन नदिने भएको छ ।
तराई क्षेत्रमा जारी बन्द हड्तालका कारण हुन सक्ने असहज परिस्थितप्रति सचेत रहँदै सरकारले ’एक्सन प्लान’ बनाएर अभाव हुन नदिने भएको हो । अत्यावश्यक वस्तु अभाव हुन नदिन सरकारी संस्थानहरु खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङलगायतका संस्थानलाइ परिचालन गर्ने सरकारले तयारी गरेको छ । विहीबार बसेको केन्द्रीय आपूर्ति व्यवस्था समितिको बैठकले खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङलगायतका संस्थानलाई चाडपर्व लक्षित योजना बनाएर काम गर्न निर्देशन दिएको हो ।
बैठकमा विभिन्न संस्थानहरुमा भएको खाद्यान्न तथा अन्य वस्तुको मौज्दातबारे बैठकमा समीक्षा भएको थियो । बैठकमा खाद्य संस्थानले आफूसँग २ लाख ९४ हजार किलो खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ९ महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ । नेशनल ट्रेडिङले भने आफूसँग मौज्दात सामान नरहेको भन्दै बजारबाट खरीद गर्दै आवस्यकता अनुसार विक्री गर्दै आएको जनाएको छ । खाद्य संस्थानले दशैंका लागि १ हजार च्यांग्रा र १५ सय खसीबोका ल्याउने तयारी गरेको छ । तराई बन्दका कारण योजना अनुसारको खसी ल्याउन नपाएपछि खाद्यले १ हजार च्यांग्रा मुस्ताङबाट ल्याउने तयारी गरेको हो ।











