७ असोज, वीरगंज । स्वायत्त मधेसप्रदेश बनेपछि नेपालका अन्य प्रदेशलाई नाकाबन्दी गरेर बारम्बार दुःख दिने योजना बनाएका मधेसकेन्द्रित दलहरुले अहिलेदेखि नै नेपालीलाई पीडा दिन सुरु गरेका छन् । नेपाल भारतको सिमानाबाट नेपालमा सामान प्रवेश गर्न नदिने अमानवीय व्यवहार मधेसकेन्द्रित दलहरुले विहीबारबाट सुरु गरेका हुन् । आफ्नै नेपाली जनताका लागि नाकाबन्दी सुरु गरेर मधेसकेन्द्रित दलहरुले आफ्नो नियत प्रष्ट पारेका हुन् ।
विहिबार देखि मुलुकको मुख्य नाका वीरगंजस्थित नेपाल भारत नाका पनि ठप्प पारेका छन् । संघीय समावेशी मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंज र सीमावर्ती भारतीय सहर रक्सौललाई जोडने दशगजास्थित सिर्सिया खोलाको मितेरी पुलमा छुट्टा छुट्टै धर्ना सुरु गरेका छन् । बिहान करीब ९ बजेबाट उनीहरुले धर्ना सुरु गरेका हुन् । आयातनिर्यात ठप्प पारी सरकारलाई आफ्ना माग पुरा गर्न दबाब दिने रणनीति अनुरुप मोर्चाले वीरगंज समेत बिराटनगर, भैरहवा लगायतका मुख्य नाकाहरुमा विहिबार एकै साथ यस्तो धर्ना थालेको हो ।

मालबाहक तथा यात्रुबाहक सवारी साधनको दुबै मुलुक तर्फको आवागमन ठप्प भएको छ । यात्रुहरुलाई पैदल आवतजावत गर्न पनि कठिनाई भई रहेको छ । नेपालबाट भारत तर्फ पेट्रोलियन पदार्थ लिन भनी जान तयार रहेको एक सय बढी ट्यांकर सीमास्थित शंकराचार्य गेटमै रोकिएका छन । धर्नास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरीे तैनाथ गरिएका छन् ।
४२ दिन लामो बन्द र ३ साताभन्दा बढीको कफ्र्यु र दंगाग्रस्त क्षेत्रले आक्रान्त रहेको तराई मधेश अब मधेसी दलको नाकाबन्दीको कारण झनै संकटमा पर्ने भएको छ । इन्धन लगायतका दैनिक उपभोग्य बस्तुको अभाव तराई मधेश मात्र नभई मुलुक भरी हुने सम्भावना बढेको छ ।













