७ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतले नेपालको संविधान संशोधनका लागि कुनै लिष्ट नबनाएको स्पष्ट पारेका छन्।
एमाओवादी अध्यक्ष प्रचण्ड निवासमा बुधबार साँझ भेट्न पुगेका भारतीय राजदूत रेले आफ्नो सरकारको तर्फबाट नेपालको नयाँ संविधानमा संशोधनका लागि कुनै सूची नबनाएको र त्यो नेपाल सरकारलाई नबुझाएको जानकारी दिएका छन्।

प्रचण्डका सहयोगी एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काका अनुसार प्रचण्डले नेपालको संविधानका विषयमा भारतले तयार पारेको संशोधनको सूचीबारे भारतीय सञ्चारमाध्यममा आएको समाचारबारे राजदूतसँग आधिकारिक धारणा मागेका थिए।
नेपालमा नयाँ संविधान जारी भएकोमा उक्त संविधानमा तराई मधेसको समस्या समाधानका लागि ७ वटा मुख्य विषयमा तत्काल संशोधन गरी समाधान निकाल्न भारत सरकारले नेपाल सरकारलाई सुची बुझाउने तयारी गरेको समाचार भारतीय समाचार पत्र ‘इन्डियन एक्सप्रेस’ को बुधबारको अंकमा प्रकाशित भएको थियो।
आधा घण्टा लामो भेटवार्ताका क्रममा राजदूत रञ्जित रेले तराई मधेसमा भइरहेको आन्दोलनलाई वार्ता र सहमतिका माध्यमबाट जतिसक्दो चाडो समाधान गर्नु पर्ने धारणा भारतको रहेको जानकारी पनि दिएका थिए।
उनले तराई मधेसमा उत्पन्न समस्या लम्बिदै गएमा त्यसको असर सीमावर्ती भारतीय क्षेत्रमा पनि पर्ने भन्दै यो समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका तर्फबाट लचकता प्रदर्शन गर्न पनि सुझाव दिएका थिए।
साथै उनले अहिलेको समस्या समाधानका लागि प्रचण्डले नै नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
जवाफमा प्रचण्डले आफूहरु सबै समस्याको समाधान वार्ता र सहमतिद्धारा गर्न तयार रहेको भन्दै त्यसका लागि विगतमा पटक पटक वार्ताका लागि आहाव्न गर्दै आएको र आजै मात्र पनि आफ्नो पार्टीको तर्फबाट वार्ताका लागि सम्बन्धीत पक्षलाई विज्ञप्ति जारी आग्रह गरेको जानकारी दिएका थिए।
सहमतिका वातावरण निर्माण गर्न प्रचण्डले राजदूत रायलाई पनि सकारात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए। नेपालमा नयाँ संविधान जारी भएपछिको स्थितीबारे नयाँदिल्लीस्थित सरकारी निकायमा अबगत गराउन र आवश्यक परामर्श गर्न मंगलबार दिल्ली पुगेका रञ्जित रे बुधबार बिहान काठमाडौ आइपुगेका थिए। नेपाल फर्किए लगत्तै उनी त्रिभुवन विमानस्थलबाट सोझै प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।











