६ असोज, दाङ । दाङको देउखुरीमा एक जना आन्दोलनकारी माथि प्रहरीले गोली हानेको भन्ने कुरा निराधार भएको अस्पतालले पुष्टि गरेको छ।
बुधबार बिहान करिब साढे ४ बजे लमही नगरपालिका वनगाउँमा लमही – १ नर्ती निवासी ३२ बर्षिय हरिराम चौधरीलाई प्रहरीले गोली हानेर घाईते बनाएको भन्दै दिनभर दाङमा हंगामा मच्चिएको थियो। तर राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको रिपोर्टले चौधरीलाई गोली लागेको नभई धारिलो किल्ला, गाडिको टायरले उछिट्टिने रोडा, गाडिको फूटेको सिसा वा अन्य कुनै यस्तै धारिलो वस्तुले खुट्टामा घाउ वनेको पुष्टि गरेको छ। दाङका जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले प्रहरीले गोलि चलाउने स्थिति नै जिल्लामा उत्पन्न नभएकोले प्रहरीले गोलि हान्यो भन्नु सरासर गलत भएको बताए। राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार लागि लगिएका घाईते चौधरीको खुट्टाको घाउको एक्सरे बाट र घाउको प्रकृति अनुसार गोली नलागेको पुष्टि अस्पतालले गरेको हो।
यसअघि थरुहटरथारुवान संयुक्त संघर्ष समितिका देउखुरीका संयोजक हिरालाल चौधरीले प्रहरीले हानेको गोली लागेर हरिराम चौधरी घाईते भएको दावी गर्दै आएका थिए।
यहि सवालमा बुधबार दिनभरजसो वडा प्रहरी कार्यालय लमहीमा आन्दोलनरत थारु नेता र प्रहरीबीच छलफल पनि भएको थियो।
छलफलमा सहभागि अर्थात घाईते चौधरीलाई मोटरसाईकलमा बोक्ने व्यक्तिले समेत छलफलका क्रममा आफूले गोली चलेको आवाज नसुनेको बताएका थिए। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्ष्मणबहादुर शाहीले पनि प्रहरीलाई बदनाम गराउन र सदभाव बिथोल्न खोज्ने तत्वका कारण प्रहरी विरुद्ध गलत हल्ला फैलाउन खोजिएको बताए।
लमहीको वनगाउँमा गाडिमा आगजनी हुन थालेको सूचना पाएर प्रहरी त्यसतर्फ गएको र घटना संलग्न रहेको आशंकामा एकजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको शाहीले बताए। उनले अवस्था सामान्य रहेकोले प्रहरीले कुनै वल प्रयोग समेत गर्नु नपरेको बताए। त्यस क्रममा कुनै पनि फायरिङ नगरेको शाहीले दाबी गरे। चौधरीको खुट्टाको कुर्कुच्चामा फलामको किल्लाले वारपार छेडेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।













