६ असोज, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनलाई निरन्तरता दिने भएको छ । मोर्चाको राजविराजमा बुधबार सम्पन्न बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्न मोर्चाले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा जारी रहेको आन्दोलनलाई अझ बढी प्रभावकारी र सशक्त पार्दै निरन्तर जारी राख्ने निर्णय भएको मोर्चाका नेता तथा संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

मोर्चाले आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदि बन्द गराउने र राजमार्ग केन्द्रित आन्दोलन परिचालन गर्ने निर्णय गरेको छ । यस्तै मेची महाकालीको (हुलाकी लोकमार्ग) मा मानव सांङ्लो निर्माण गरी हातेमालो कार्यक्रम गर्ने मोर्चाले जनाएको छ । सरकारले निहत्था जनतालाई टाउको र छातीमा गोली हानी हत्या गरी मानवअधिकारको हनन गर्नुका साथै मानवताबिरोधी अपराध तथा अन्तराृष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने अपराध गरेको जनाउँदै मोर्चाले यो सम्बन्धमा सर्वाेच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा दायर गर्ने निर्णय भएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले जानकारी गराए ।
मोर्चाले आन्दोलनरत अन्य संगठनसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । ‘मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवम् मुश्लिम संघर्ष समिति लगायतसँग भइरहेको सहकार्यलई अगाडि बढाउँदै यसका अतिरिक्त मोर्चासँग समान मुद्दा भएका दल, संगठन र संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरियो’ यादवले भने । सहकार्यका लागि चार सदस्य सचिवालयका सदस्यहरु सम्मिलित एक समिति बनाइएको छ । समितिमा संघिय समाजवादी फोरम नेपालका तर्फबाट राजेन्द्र श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट गोबिन्द चौधरी, सद्भावनाको तर्फबाट मनिषकुमार सुमन र तराई मधेश सद्भावना पार्टीको तर्फबाट रामनरेश राय यादवलाई जिम्मेबारी दिइएको छ ।
असोज ५ गते सुनसरीको इनरुवामा आफ्ना कार्यकर्ताहरुले चीनको झण्डा जलाउनु दुःखद भएको मोर्चाले जनाएको छ ।











