६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले हालै घोषणा भएको नयाँ संविधान नेपालीका लागि बनाएको भन्दै यसलाई स्वगत गर्न छिमेकी मुलुक भारतलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौमा आयोजना गरिएको ‘नयाँ संविधान र नेपालको भावी दिशा’ विषयक विचार गोष्ठीमा उहाले नेपाली जनताको प्रतिनिधिले संविधान निर्माण गरेको भन्दै कसैले टाउको दुखाउनुभन्दा फराकिलो छाति बनाएर स्वागत गर्न सुझाव दिए । ओलीले सानो देश र संक्रमणकालमा छ भन्दैमा कसैले राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप गर्न नपाउने उल्लेख गरे । ओलीले नागरिकताको अंगीकृत प्रावधान र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीसहितका पदमा वंशजका नागरिक मात्र हुन सक्ने व्यवस्था हटाउनुपर्ने सुझाव स्वीकार गर्न नसक्ने प्रष्ट पारे । नेपाली जनताले विदेशबाट आएर नागरिकता लिएका व्यक्तिलाई राष्ट्रप्रमुख र प्रदेशप्रमुख कुनै हालतले नबनाउने भएकोले त्यस्तो प्रावधान राख्न नसकिने उनले प्रष्ट्याए ।
जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण सम्भव नभएको उनेको भनाइ थियो । हाल कायम जिल्लाको भूगोलमा कम्तिमा एक निर्वाचन क्षेत्र रहने गरी बाँकी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख गरे ।











